हेटौंडा \ मकवानपुर जिल्ला सहकारी सङ्घकाे २३ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सङ्घका अध्यक्ष नारायण प्रसाद देवकोटाकाे सभाध्यक्षता तथा जिल्ला समन्वय समितिका संयाेजक ललित बहादुर घलानकाे प्रमुख आतिथ्यतामा सभा भएको हाे ।
आव २०८२/०८३ मा दुई कराेड ८८ लाख ९४ हजार १६९ रुपैयाँ कुल सम्पत्ति रहेकाे सङ्घकाे शेयरपुजीँ १९ लाख १६ हजार रुपैयाँ रहेकाे सङ्घका व्यवस्थापक गाेविन्द दहालले बताए । उनका अनुसार जगेडा काेषमा ५४ लाख १२ हजार, पाउनुपर्ने हिसाबमा एक कराेड ८५ लाख ६७ हजार ९४९ रुपैयाँ,अन्य दायित्वमा एक कराेड ७३ लाख ९२ हजार ९१६ रुपैयाँ रहेकाे प्रतिवेदनमा उल्लेख छ । सभामा काेषाध्यक्ष विमलकुमार ढकालले चालू आव २०८३/०८४काे २२ कराेड ५८ लाख ६६ हजार ३८४ रुपैयाँको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

साधारणसभामा प्रथम भएको चेतनशील दुग्ध उत्पादक सहकारी संस्था, द्वितीय भएको चन्द्रसुर्य दुग्ध उत्पादक सहकारी संस्था र तृतीय भएको रत्नदेवी दुग्ध उत्पादक सहकारी संस्थालाई क्रमश: १० हजार, ७ हजार र ५ हजार नगद सहित पुरस्कृत गरिएको थियाे । साथै १० वटा सहकारी संस्थालाई प्राेत्साहन स्वरुप सम्मान गरिएको थियाे ।
सभामा राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक सदस्य बद्रीप्रसाद लम्साल, केन्द्रीय कृषि सहकारी संघका अध्यक्ष एकराज उप्रेती, केन्द्रीय दुग्ध सहकारी सङ्घका सदस्य विदुर हुमागाई, जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष हरि प्रसाद कंडेल, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख समीर श्रेष्ठ लगायतकाे आतिथ्यता रहेकाे थियो ।


