हिमालयन रिइन्स्योरेन्सको सेयरमा चलेखल गर्न बिचौलिया दीपक भट्टलाई सघाएको नेपाल धितोपत्र बोर्डको जाँचबुझमा देखिएपछि व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गोल्छालाई बिहीबार नक्सालबाट पक्राउ गरेको हो ।

हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष गोल्छाले इन्फिनिटी होल्डिङ्सका सञ्चालक भट्टलाई नेपाल रिइन्स्योरेन्सको सेयर मूल्य उचाल्न सहयोगी भूमिका खेलेको बोर्डको जाँचबुझ समितिको निष्कर्ष थियो । भट्ट र सुलभ अग्रवालदम्पतीले ब्रोकर कम्पनी ‘भृकुटी स्टक ब्रोकिङ’सँग मिलेमतो गरी धितोपत्र कसुर गरेको र त्यसमा गोल्छाले सहयोगी भूमिका खेलेको ३ वैशाखमा बुझाएको प्रतिवेदनमा उल्लेख छ । जाँचबुझ समितिले गोल्छासहितका व्यवसायीलाई प्रहरीले थप अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको थियो । सोही आधारमा सिआइबीले उनलाई पक्राउ गरेको हो । गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत हुन् ।

सिआइबीका प्रमुख एआइजी मनोज केसीले गोल्छालाई धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गत कसुरमा पक्राउ गरेको जानकारी दिए । ५९ वर्षीय गोल्छासमेतको मिलेमतोमा धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुरमा ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन ब्युरोलाई प्राप्त भएपछि पक्राउ गरेको उनको भनाइ छ । सिआइबीले बिहीबारै काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरेको केसीले बताए ।