हेटौंडा \ हेटौंडा १५ भोर्लेमा रहेको महिला जनशक्ति बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा सदस्य र समूहहरुलाई सम्मान गरेको छ । चैत्र ३० गते दर्ता भई बचत र ऋणको सेवा प्रवाह गर्दै आइरहेको सहकारीले सोमबार एक कार्यक्रमका बीच विभिन्न विधामा सदस्य र समूहलाई सम्मान गरेको हो ।

संस्थाका अध्यक्ष जुना दंगालको अध्यक्षता तथा वडा १५ का अध्यक्ष सुनील मोक्तानको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम गरिएको थियो । कार्यक्रममा असल ऋणीतर्फ फूलकुमारी वाईबा, रामप्यारी श्रेष्ठ र कविता स्याङ्बोलाई सम्मान गरिएको थियो । त्यस्तै, नियमित बचतकर्तातर्फ प्रमिला घलान, दीपा लोप्चन र बिन्दामाया गोम्बालाई सम्मान गरिएको थियो भने उत्कृष्ट समूहहरुमा सुनगाभा महिला समूह, चन्द्र महिला समूह र अशोकबाटिका महिला समूहलाई सम्मान गरिएको थियो ।

सोही अवसरमा २०६२ देखी कार्यालय सहायक पदमा रही निरन्तर २० वर्ष संस्थामा कार्यरत लक्ष्मी तितुङलाई ससम्मान विदाई कार्य समेत गरिएको थियो । दुई हजार ९ सय ४० सदस्य रहेको संस्थाले चैत्र मसान्तसम्ममा २३ करोड ८६ लाख ५२ हजार ६५९ रुपैयाँको कारोबार गरेको छ । सहकारीले १६ करोड ४४ लाख ८९ हजार ७२१ रुपैयाँ कर्जा लगानी गरेको छ भने १७ करोड ९० लाख ३४ हजार १७८ रुपैयाँ बचत निक्षेप रहेको संस्थाका व्यवस्थापक माया तामाङले बताईन् । संस्थाको जगेडा कोषमा भने एक करोड ३० लाख ६८ हजार ६४७ रुपैयाँ रहेको छ ।

सहकारीले वडा कार्यालय सँगको सहकार्यमा पाँच दिने अचार बनाउने तालिम गरेको थियो । सोही तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । तालिममा २५ जनाको सहभागीता रहेको व्यवस्थापक तामाङले बताईन् । तालिमलाई अञ्जु बासुकलाले सहजीकरण गरेकी थिईन् ।

कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष समेत रहेकी संस्थाका लेखा संयोजक मेनुका दाहाल, वडा सदस्य तथा संस्थाका कोषाध्यक्ष मिनु विश्वकर्मा, तालिमका प्रशिक्षक अञ्जु बासुकला, नेपाल सहकारी पत्रकार समाजका सदस्य श्रीराम अर्जुन,संस्थाका उपाध्यक्ष कमला कुमारी तामाङलगायतको आतिथ्यता रहेको थियो ।