गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न उज्यालो नेपाल पार्टीले माग गरेको छ।
प्रवक्ता डा.राजु थापाले विज्ञप्ति जारी गर्दै जेन जी आन्दोलनसँग सम्बन्धित घटनाक्रम, त्यसक्रममा भएको मानवीय क्षति, सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको क्षति, राज्य संयन्त्रको भूमिका, आदेश शृंखला तथा बल प्रयोगको औचित्यबारे छानबिन गर्न गठित कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नुको विकल्प नभएको बताएका हुन्।
‘आयोगले प्रतिवेदन सरकारलाई बुझाइसकेको अवस्थामा पनि हालसम्म सार्वजनिक नगरिनु दुःखद, चिन्ताजनक र लोकतान्त्रिक मूल्य मान्यताविपरीत रहेको हाम्रो ठहर छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता प्रकृतिका घटनासँग सम्बन्धित प्रतिवेदन सार्वजनिक नहुँदा नागरिक तहमा अन्योल, शंका, असन्तोष तथा राज्यप्रतिको अविश्वास बढ्नु स्वाभाविक हुन्छ। पीडित पक्ष, घाइते, मृतकका परिवार तथा आन्दोलनसँग जोडिएका नागरिकले सत्य, न्याय र जवाफदेहिताको अपेक्षा राखिरहेका बेला प्रतिवेदन गोप्य राखिनु उचित होइन।’
उनेपाले सत्य लुकाएर स्थायित्व नआउने जनाएको छ। ‘सत्य सार्वजनिक गरेर मात्र न्याय, सुधार र सामाजिक विश्वासको मार्ग खुल्दछ भन्ने कुरामा उज्यालो नेपाल पार्टी बिश्वस्त छ। कुनै पनि जाँचबुझ आयोगको प्रतिवेदन सरकारको फाइलमा सीमित रहने कागजपत्र मात्र होइन, बरु सार्वजनिक सरोकार, संस्थागत सुधार, जिम्मेवारी निर्धारण र न्यायिक तथा प्रशासनिक प्रक्रियाको आधार बन्नुपर्ने दस्तावेज हो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले प्रतिवेदन सार्वजनिक गर्नु कसैलाई पूर्वाग्रही रूपमा दोषी ठहर गर्नु होइन, बरु सत्यतथ्यलाई जनतासामु ल्याई निष्पक्ष प्रक्रिया अघि बढाउने आवश्यक प्रारम्भिक कदम हो।’

