काठमाडौं \ नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावटले सोमबार पनि निरन्तरता पाएको छ । आइतबार १०.२४ अंक घटेको नेप्से सोमबार २६.०५ अंक घटेको हो ।
आगामी २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सेयर बजार भने नकारात्मक देखिएको छ । निवार्चन समयमा भएको खण्डमा सेयर बजारमा लगानी बढ्ने अनुमान गरिए पनि चुनाव नजिकिएसँगै बजारमा देखिएको नैराश्यताले आमलगानीकर्ताको मनोबल कमजोर बनाएको देखिन्छ ।
सोमबार कारोबार सुरु भएदेखि नै नेप्से निरन्तर ओरालो नै रह्यो । कारोबारको अन्तिम समयमा भने घट्ने क्रममा कमी आएको थियो । सोमबार कारोबार सुरु हुँदा २६९८.४५ अंकमा रहेको नेप्से सूचक २६ अंक घटेर बन्द हुँदा २६७२.३९ मा झरेको छ ।
सोमबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आए पनि समग्र बजार सूचक नकारात्मक भएको हो । नेप्सेमा यस दिन २ सय १२ कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार ४६ कम्पनीको सेयर मूल्य बढ्दा खानीखोला र रिडी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यस दिन नेप्सेमा कारोबार भएका ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएन ।

