♦ राजन घिमिरे


हेटौंडा \ बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठनको रुपमा रहेको बागमती प्रदेश बचत तथा ऋण ऋण सहकारी संघको छैंटो स्थापना दिवसको अवसरमा प्रदान गरिन लागिएको सर्वोत्कृष्ट महिला व्यवस्थापकको उपाधि मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा अवस्थित जागरण बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक मेनुका दाहालले प्राप्त गर्ने भएकी छिन् । संघले सार्वजनिक गरेको विवरणमा उनले प्रदेशकै सर्वोत्कृष्ट महिला व्यवस्थापकको उपाधि प्राप्त गर्न लागेकी हुन । संघले स्थापना दिवसको अवसरमा उक्त उपाधि प्रदान गर्नेछ । १३ वटा जिल्लाका विभिन्न संस्थाका महिला व्यवस्थापकहरुलाई उछिन्दै मकवानपुरकी दाहालले उक्त उपाधि प्राप्त गरेकी हुन् ।

विस २०७२ सालदेखी सहकारीमा आवद्ध रहेकी दाहाल व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी छिन् । गतवर्ष जिल्ला बचत तथा ऋण सहकारी संघबाट उत्कृष्ट व्यवस्थापक सम्मान प्राप्त गरेकी दाहाल सहकारी अभियानमा निरन्तर लगनशीलताका साथ सक्रिय रहेकी छिन् । एक दशकदेखी संस्थामा गरेको कार्य सम्झीदैँ दाहाल भन्छिन्ः म आउँदा सुरुवातमा ४ करोड कारोबार थियो, हाल साढे २२ करोडको कारोबार गर्दै सदस्यहरुलाई बचत र ऋणको सेवा प्रदान गर्दै आइरहेको छु । संस्थाका आफ्नो पहलमा धेरै कामहरु सञ्चालन हुँदै आइरहेको छ । आफुले जिम्मेवारीका साथ प्रोवेशन ब्राण्डको प्रमोशन हुने गरि कार्य गरेको बताउँदै एक्सेस ब्राण्डिङ कार्यक्रममा समेत सहभागी भइरहेका छौं, उनले भनिन् ।

सहकारी मार्फत महिला सदस्यहरुको लागि स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रम गरिनुका साथै गरिब तथा विपन्न बाल सदस्यहरुको लागि छात्रवृति वितरण गर्दै आइरहेको उनले बताईन् । मकवानपुरगढी ३ मक्रान्चुलीमै जन्मिएकी दाहाल आफ्नै गाउँमै सहकारी मार्फत सेवा प्रदान गर्दै आइरहेकी छिन् । दर्जनौं भन्दा बढी विभिन्न तालिम लिएकी दाहालले गरिबी विरुद्ध वित्तीय शिक्षाको टटको तालिम लिएकी छिन् । उनले लेखा व्यवस्थापन, धितो मुल्याङ्कन तालिम, पल्र्स अनुगमन, संस्थागत विकास, नेतृत्व विकास, जनशक्ति व्यवस्थापन, वार्षिक योजना तथा बजेट निर्माण, वस्तु तथा सेवा विकास, उच्चस्तरीय पल्र्स अनुगमन प्रणाली, कर व्यवस्थापन लगायत थुप्रै तालिम लिइसकेकी छिन् । तालिम सिक्ने माध्यम हो, जति सिके उत्तिनै ज्ञान बढ्छ, उनी भन्छिन् ।

आफुले संस्थाको जिम्मेवारी लिएपश्चात संस्थाले नेपाल स्तरको प्रोवेशन ब्राण्ड तीन पटक २०७५ देखी ०७७ सम्म प्राप्त गरेको व्यवस्थापक दाहालले बताईन् । जिल्ला बचत संघ मकवानपुरबाट उत्कृष्ट मिश्रित साकोस सम्मान भएको थियो भने नेफ्स्कुनबाट सर्वोत्कृष्ट संस्था सम्मानित भएको उनले बताईन् । उनका अनुसार मकवानपुरगढी गाउँपालिकाबाट दुई पटक सहकारी संस्था सर्वोत्कृष्ट संस्थाबाट सम्मानित भइसकेको छ ।