काठमाडौं \ अन्य क्षेत्रमा कर्जा प्रवाह बढ्न नसकिरहेका बेला पछिल्लो एक वर्षमा सेयर धितो कर्जा ४६ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट कुल ८५ अर्ब ९५ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह भएकोमा यो वैशाख मसान्तसम्म आउँदा १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।
अन्य क्षेत्रमा कर्जा जान नसकिरहेका बेला सेयरमा मात्रै बढेपछि यसलाई खुकुलो बनाउनमा नहुने मत पनि बढेको छ । अर्कोतर्फ अहिले पनि एक व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट लिन पाउने १५ करोडको सीमा कायम छ । यसलाई खोलेमा थप कर्जा बढ्ने अनुमान छ । आगामी मौद्रिक नीतिमार्फत यो सीमा हटाउन सकिने अनुमान गरिएको छ ।
अहिले नै उच्च दरले बढिरहेको सेयर कर्जामा १५ करोडको सीमा पनि हटाउने हो भने सेयरमा मात्रै कर्जा बढ्ने र अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने कतिपयको बुझाइ छ । तर यदि यस्तो सीमा हटाइए पनि बैंक तथा वित्तीय संस्थाले मनपरी सेयर कर्जा दिन सक्दैनन् ।
एउटा बैंक तथा वित्तीय संस्थाले आफ्नो प्राथमिक पूँजी (कोर क्यापिटल)को कुल ४० प्रतिशतसम्म मात्रै सेयर धितोमा कर्जा दिन पाउने व्यवस्था छ । हाल वाणिज्य बैंकहरूको कुल प्राथमिक पूँजी ५ खर्ब ६८ अर्ब रुपैयाँ छ । यसको ४० प्रतिशत भनेको २ खर्ब २७ अर्ब रुपैयाँ हुन आउँछ ।

