प्राथमिक सेयर निष्कासन (आईपीओ) मा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बिचौलियामार्फत जलविद्युत् प्रवर्द्धकहरूसँग कमिसन मागेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालका अध्यक्ष गणेश कार्कीसहित पदाधिकारीसँग बयान लिएको छ ।
जलविद्युत् प्रवर्द्धकहरूले आईपीओमा कमिसन मागेको आरोप लगाएपछि आयोगले बुधबार सेबोनमा छापा मारेर आईपीओ निष्कासनको प्रक्रियामा रहेका कम्पनीको फाइल नियन्त्रणमा लिएको थियो । बिहीबार इप्पानका अध्यक्ष कार्की र उपाध्यक्ष उत्तम भ्लोन लामा र अन्य पदाधिकारीसँग बयान लिइएको स्रोतले बताएको छ ।
इप्पानका अध्यक्ष कार्की र उपाध्यक्ष लामा दिउँसो १ बजे आयोगको कार्यालय पुगेका थिए । उनीहरूसँग आयोगले आईपीओमा कमिसन सम्बन्धमा विस्तृत जानकारी लिन चाहेको बताइएको छ । बयानभन्दा पनि आईपीओ कमिसन सम्बन्धमा आयोगले थप बुझ्न भन्दै बोलाएपछि आफूहरू छलफलका लागि गएको इप्पान अध्यक्ष कार्कीले जनाए । ‘मसँग सामान्य कुराकानी मात्र भयो । यस विषयमा इप्पानका उपाध्यक्ष लामा बढी जानकार रहेकाले उहाँसँगै धेरै कुरा भयो,’ उनले भने, ‘पछिल्लो घटनाक्रम सम्बन्धमा आयोग थप प्रस्ट हुन चाहेको देखिन्छ ।’
आयोगमा छलफलका लागि आफूहरू गएको इप्पानका उपाध्यक्ष लामाले पनि स्विकारे । ‘सेबोनलाई उद्धृत गर्दै आईपीओ अनुमतिमा ढिलाइ हुनुमा कम्पनीहरूले कागजात नै नदिएको र आवश्यक मापदण्ड पूरा नभएकाले हो रे नि त भनेर प्रश्न सोध्नुभएको थियो,’ उनले भने, ‘हामीले सबै वास्तविकता बताइदिएका छौं । एक वर्षभन्दा लामो समयदेखि अनुमति नपाउँदा फेरि डीडीए गर्नुपर्ने, अन्डरराइटर नियुक्त गर्नुपर्नेलगायत धेरै काम गर्नुपर्छ । सेबोनले अनुमति दिने टुंगो नभएपछि यी काम सुरुमै गरेर राख्नु पनि भएन ।’ आयोगले अरू केही जलविद्युत् प्रवर्द्धकसँग पनि बयान लिएको स्रोतले बताएको छ ।

