April 17, 2024
साउन १३, २०७९

हेटौंडा \  रोजगारीको सिलसिलामा विदेशिनेको संख्या बढिरहँदा हेटौंडा उपमहानगरपालिकामा भने रोजगारीको लागि विनियोजित बजेट बर्सेनी फ्रिज हुने गरेको छ।
स्वदेशमा नै रोजगारी दिन सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट हेटौंडा  उपमहानगरपालिकामा बर्सेनी फ्रिज हुने गरेको हो। बेरोजगारीको मारमा परेर वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहँदा हेटौंडा उपमहानगरले उनीहरुलाई स्वदेशमा नै रोजगारी दिन बजेट खर्च गर्न नसकेको हो।

गत आर्थिक वर्ष २०७८\०७९ मा हेटौंडा उपमहानगरमा प्रधानमन्त्री रोजगार कार्यक्रमको कुल रकममध्ये ३१ प्रतिशत मात्रै खर्च भएको छ। संघीय सरकारबाट हेटौंडा उपमहानगरपालिकामा रोजगार कार्यक्रम सञ्चालनका लागि एक करोड १८ लाख रुपैयाँ दिए पनि काम भने हुन सकेको छैन।

उपमहानगरले कुल रकममध्ये ३७ लाख रुपैयाँ मात्रै खर्च गरेको छ भने ८१ लाख रुपैयाँ फ्रिज भएको छ। उपमहानगरपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक बिजेन श्रेष्ठले गत आर्थिक वर्षका लागि आएको बजेटको ६३ प्रतिशत काम हुन नसकेको जानकारी दिए। उनको अनुसार अघिल्लो आर्थिक वर्ष २०७७\०७८ मा पनि हेटौँडा उपमहानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम लगभग २० प्रतिशत रकम मात्रै खर्च भएको थियो।

रोजगार कार्यक्रम सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ प्राप्त भएकोमा सो रकममध्ये ४४ लाख रुपैयाँ मात्रै खर्च भएको थियो। बाँकी ९६ लाख रुपैयाँ खर्च नभएपछि संघीय सरकारको खातामा नै उक्त रकम फिर्ता गएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *