हेटौंडा \ प्रदेश कृषि विकास विधेयक र प्रदेश पोल्ट्री विकास विधेयकका लागि सुझाव उपलब्ध गराउनका लागि बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सुचना जारी गर्दै सुझावको लागि आग्रह गरेको छ । कृषि क्षेत्रमा आमूल परिवर्तन गरी वैज्ञानिक कृषि पद्धति मार्फत कृषि क्षेत्रको रुपान्तरण गर्न, खाद्य र पोषण सुरक्षामा टेवा पुर्याउन र समग्र किसानको हक हितको लागि यो विधेयक ल्याउन लागेको मन्त्रालयले जनाएको छ ।
बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले “प्रदेश पोल्ट्री विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” र “प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” को प्रारम्भिक मस्यौदा तयारीको कार्य अगाडी बढाईरहेको मन्त्रालयका प्रवक्ता तथा विधेयक मस्यौदा तर्जुमा समितिका संयोजक झलकनाथ कंडेलले बताए ।
विधेयकहरुमा समावेश हुनुपर्ने व्यवहारिक र सैद्धान्तिक विषयहरुको धेरै भन्दा धेरै पक्षको भावनालाई समेटेर कार्यान्वयन योग्य बनाउन र कृषि क्षेत्रलाई दिशानिर्देश गर्नको लागि विधेयकको मस्यौदामा समेटिनुपर्ने विषयमा आफ्नो अति नै महत्वपुर्ण राय र सुझाव, प्रतिवेदन, टिपोट पेस गर्न मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले आग्रह गरेका छन् ।
विधेयकमा कृषक, व्यवसायी, सरकारी निकाय, संघसंस्था, पत्रकार लगायत सम्पुर्ण सरोकारवालाहरुमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुरोध गरेको छ ।