हेटौंडा \ हेटौंडा–२ स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । संस्थाको २० औं वार्षिकोत्सवको अवसरमा आइतबार सदस्य शिक्षा, विस्तारित मञ्च तथा बृहत् सम्मान कार्यक्रम आयोजना गरेको गर्दै विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ सम्मानित हुनुभएको छ । श्रेष्ठले अनवरत रुपमा सञ्चारमाध्यमको क्षेत्रबाट मकवानपुरमा योगदान दिएको भन्दै संस्थाले सम्मानित गरेको हो । श्रेष्ठसहित कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । संस्थाले बकैया–७ का बेकरी व्यवसायी सुसन राई र हेटौँडा ५ की कपडा व्यवसायी सृजना श्रेष्ठलाई सम्मान गरेको छ । संस्थाले एसईईमा राम्रो नतीजा हासिल गर्ने सेयर सदस्यका आफ्ना छोराछोरी, विद्यावारिधी उपाधि हासिल गर्ने विश्वनाथ सञ्जेल र राम बहादुर भण्डारीलाई पनि सम्मान गरेको छ । एसईईमा ४ जिपिए ल्याउने शुभम् खनाल, रौनक भण्डारी र पूर्णता गोर्खालीलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका २ जना ज्येष्ठ सदस्यहरु, ७ जना उत्कृष्ट ऋणीहरु, बाल बचतकर्ताहरु ५ जना, नियमित उत्कृष्ट बचतकर्ताहरु ७ जनालाई पनि सम्मान गरिएको छ । साथै यसअघि सम्पन्न बक्तृत्वकला कार्यक्रममा उत्कृष्ट हुन सफल बाल बचतकर्ताहरुलाई पनि पुरस्कृत गरिएको छ । संस्थामा क्रिष्टल तालिममा प्रशिक्षक रहनुभएकी उद्यमी कमला सुवेदीलाई पनि कार्यक्रममा सम्मानित गरिएको छ ।

कार्यक्रममा संस्थाका व्यवस्थापक रमला कुमारी सापकोटाले स्थापनाको समयदेखि संस्थाको गतिविधीहरु तथा हालको अवस्थाबारे जानकारी दिनुभयो । उहाँले हाल संस्थामा ३ हजार ९६ जना शेयर सदस्यहरु रहेको जानकारी दिदैं बैशाख मसान्तसम्म ६ करोड ८८ लाख ९९ हजार शेयर पुँजी पुगेको जानकारी दिनुभयो । यस्तै संस्थाको बचत रु.५८ करोड ४३ लाख २२ हजार पुगेको, कुल ऋण लगानी रु ५७ करोड ६६ लाख २७ हजार, संस्थाको कुल सम्पति ७४ करोड ८२ लाख ९४ हजार रहेको कार्यक्रममा जानकारी दिइएको छ । कार्यक्रममा सदस्यहरुलाई सहकारी कानुनको विषयमा जिल्ला बचत संघ मकवानपुरका कार्यक्रम संयोजक सुनिल भ्लोनले सहजीकरण गर्नुभएको थियो । उहाँले सहकारी ऐन लगायतका कानुनी प्रावधान तथा आउन सक्ने समस्याहरुबारे सहजीकरण गर्नुभएको थियो ।

सहकारीका अध्यक्ष हरिप्रसाद पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय संघका फिल्ड इन्चार्ज ज्योति महत, राष्ट्रिय सहकारी बैंकका हेटौंडा शाखा प्रमुख समीर श्रेष्ठ लगायत संस्थाका सदस्यहरुको सहभागिता थियो । संस्थाले २० औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी रुपमा कार्यक्रम गरिरहेको छ । संस्थाले पहिलो दिन जेठ २ गते शेयर सदस्यहरुका सन्तानहरुलाई विभिन्न उमेर समुहमा विभाजन गरी बालबालिकाहरुको बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको थियो । यस्तै ३ गतेदेखि ८ गतेसम्म महिला शेयर सदस्यहरुका लागि क्रिष्टलका गहना तथा हेयर एक्सेसरिज बनाउने तालिम प्रशिक्षक कमला सुवेदीद्वारा प्रदान गरिएको थियो । जेठ ९ गते ४४ जना युवा शेयर सदस्यहरुलाई १ दिने साइबर सुरक्षा तालिम प्रदान गरिएको थियो । वार्षिकोत्सव कार्यक्रमको १४ गते बिहान ७ बजे रक्तदान तथा दिउँसो संस्थाकै भवनको सभाहलमा समापन गरिने संस्थाले जनाएको छ ।


