हेटौँडा \ हेटौँडा–१५ मा रहेको जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २६औँ स्थापना दिवसको अवसरमा पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । सोमबार आयोजित कार्यक्रममा वडा नं १५ का अध्यक्ष सुनील मोक्तान प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने सहकारीकी अध्यक्ष ज्योति माया देवी लोको अध्यक्षता रहेको थियो।
कार्यक्रममा सहकारीको विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने सदस्यहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। असल ऋणीतर्फ कल्पना विक, तीर्थमाया स्याङ्तान, गंगामाया वाइबा, सुनिता सुसार र चन्दा लामा सम्मानित भए भने ऐच्छिक (वार्षिक) बचततर्फ सुनिता माया घलान, भवानी विक, बुद्धि माया रुम्बा, मोहन सिंह थोकर र शर्मिला भण्डारी पुरस्कृत भएका छन्। नियमित बचततर्फ सपना स्याङ्तान, बिमला सिंतान र आशा माया घलानलाई सम्मान गरिएको थियो।

खुत्रुके बचततर्फ शुभम सिंह बघेल, कुशल तामाङ, कोपिला पुलामी, संगम रुम्बा र सार्यंन दाहाललाई पुरस्कृत गरियो भने ‘सदस्यबाट सदस्य’ कार्यक्रमअन्तर्गत बिन्दा माया गोले सम्मानित भइन्। जेष्ठ सदस्यतर्फ पञ्चमाया लो, मिठुमाया सुनार, ठुलीमाया गोले, सितामाया पाण्डे, सुन्तलीमाया पाख्रिन र पोडेमाया गोलेलाई सम्मान प्रदान गरिएको थियो। त्यसैगरी समूहतर्फ स्वागत बाल बचत समूह, सचेतना महिला समूह, इन्द्रकमल महिला समूह र मिलिजुली महिला समूहलाई पुरस्कार प्रदान गरिएको संस्थाका व्यवस्थापक सावित्री रुम्बाले बताईन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष मोक्तानले सहकारीको २६ वर्षे यात्रालाई एक परिपक्व युवासँग तुलना गर्दै यसले विशेषगरी महिलाहरूलाई आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। “हिजो सहकारीप्रति शंका गर्नेहरू आज यही माध्यमबाट लाभान्वित भइरहेका छन्,” उनले भने, “सहकारीले बैंकिङ पहुँच नपुगेका नागरिकलाई घरदैलोमै सेवा दिएको छ।”

उनले सहकारीमार्फत महिलाहरूको नेतृत्व विकास, आत्मनिर्भरता र सामाजिक पहिचान मजबुत भएको उल्लेख गर्दै आगामी दिनमा सहकारी क्षेत्र अझ जिम्मेवार र पारदर्शी बन्नुपर्नेमा जोड दिए। २०५७ साल चैत २३ गते स्थापना भएको उक्त सहकारीमा हाल ४ हजार ६९५ सदस्य आबद्ध रहेका छन्। सहकारीले बचत तथा ऋण सेवा मात्र नभई समूह परिचालन, सामाजिक अभियान तथा समुदायस्तरमा आर्थिक सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य जुना दंगाल, संस्थाका पूर्व अध्यक्षहरु मञ्जुकमारी थिङ, कुमारी श्रेष्ठ, जानुका दवाडी, नेफ्स्कुन मकवानपुरका प्रमुख ज्योति महत, को समेत उपस्थिति रहेको थियो।

