काठमाडौं \ नेपाल धितोपत्र बोर्डले लामो समयदेखि रोकिएको प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने प्रक्रिया पुनः सुरु गर्ने तयारी गरेको छ । तत्कालीन संघीय संसद्को लेखा र अर्थ समितिको फरक निर्णयका कारण रोकिएको प्रिमियममा सेयर निष्कासन प्रक्रिया महान्यायाधिवक्ताको सुझाका आधारमा अघि बढ्ने भएको हो ।
संघीय संसद्को लेखा समितिले प्रिमियममा सेयर जारी गर्ने प्रक्रिया रोक्न धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो । तर अर्थ समितिले फेरि आफ्नो क्षेत्राधिकारभित्रको विषयमा लेखाले निर्णय गर्न नमिल्ने भन्दै प्रिमियममा निष्कासन सुरु गर्न निर्देशन दिएको थियो ।
संसदीय समितिहरूले एउटै विषयमा फरक–फरक निर्देशन दिएपछि धितोपत्र बोर्ड अन्योलमा पर्यो, अहिलेसम्म प्रिमियममा आईपीओ निष्कासन अनुमति रोकिएको छ । साथै लेखाकै निर्देशनअनुसार प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ भन्दा कम रहेका कम्पनीलाई अंकित मूल्यमै पनि निष्कासन अनुमति दिएको छैन ।
लेखाको एउटा निर्देशन र त्यसको विपरित हुनेगरी अर्थ समितिको अर्को निर्देशन आएपछि बोर्डले कुनै पनि निर्णय नगरेको अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बताए । ‘दुई संसदीय समितिको फरक निर्देशनपछिको उपायबारे बोर्डको सञ्चालक समितिमा पनि छलफल भएको थियो, सञ्चालकहरूले अध्यक्षले आफ्नो विवेक प्रयोग गर्नुपर्ने भनेपछि कुनै निर्णय भएन,’ श्रेष्ठले भने, ‘मैले पनि दुई संसदीय समितिबीचको विवादमा निर्णय गर्नुभन्दा महान्यायाधिवक्ताको रायका आधारमा आवश्यक निर्णय लिने भनेर अब सुझाव लिने प्रक्रिया अघि बढाएको हो ।’

