काठमाडौं \  नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ। नेप्से ३८.५२ अंकले बढेर दुई हजार ७१२.४९ विन्दुमा कायम भएको हो। नेप्से १.४४ प्रतिशतले उकालो लागेको हो।

आज कारोबार रकममा समेत वृद्धि देखिएको छ। ३२९ कम्पनीका एक करोड ५१ लाख ८४ हजार कित्ता सेयर ६ अर्ब २३ करोड ४३ लाख रुपैयाँबराबरमा कारोबार भएको छ। आइतबार साढे पाँच अर्ब र त्यसअघि चार अर्बको सेयर कारोबार भएको थियो।

आज व्यापार समूह ०.८८ प्रतिशतले ओरालो लाग्दा बाँकी सबै समूहको सूचक वृद्धि भएको छ। जलविद्युत् २.१३ र म्युचल फन्ड ०.८३ प्रतिशतले बढ्दा बाँकी समूहको वृद्धि एक प्रतिशतभन्दा बढी छ।

आज सालपा विकास बैंक, पञ्चकन्या माई हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ। मोलुङ हाइड्रोपावर, लक्ष्मी लघुवित्त र क्रेस्ट माइक्रो लाइफका लगानीकर्ताले ६ प्रतिशतभन्दा धेरै कमाएका छन्। सबैभन्दा धेरै घटेको शुभम पावरका लगानीकर्ताले २.५३ प्रतिशत गुमाएका छन्।