नेपाल राष्ट्र बैंकले अर्थतन्त्रमा क्रमशः सुधार आउने बताएको छ। चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले जेनजी आन्दोलनपछि बनेको सरकारले सुशासनलाई सुदृढ गर्दै व्यावसायिक वातावरणअनुकूल बनाउन गरेका नीतिगत प्रयास र राष्ट्र बैंकको मौद्रिक सहजताबाट अर्थतन्त्रमा सुधार आउने अनुमान गरेको हो।

अन्तर्राष्ट्रिय साख रेटिङ एजेन्सी फिच ग्रुपले हालै सम्पन्न नेपालको सार्वभौम साख रेटिङमा गत वर्षकै रेटिङ (बीबीमाइनस) लाई निरन्तरता दिएको, आन्दोलनको क्रममा केही होटलहरूमा क्षति भए पनि नेपालको शान्ति सुरक्षामा पर्यटक आश्वस्त देखिएकोले बाह्य पर्यटक आगमन बढेको छ । नेपाल पर्यटन बोर्डबाट प्राप्त विवरणअनुसार सन् २०२४ को दस महिनामा ९ लाख ४१ हजार बाह्य पर्यटक भित्रिएकोमा सन्२०२५ को सोही अवधिमा करिव ९ लाख ४४ हजार बाह्य पर्यटक भित्रिएका छन्।

जलविद्युत्उत्पादनमा प्रगति भई आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रयमासमा थप ३०९.२ मेगावाट जलविद्युत्राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। सरकारले चालु खर्च नियन्त्रण गर्दै पुँजीगत खर्चतर्फ मूलतः तयारी नपुगेका र साना आयोजनाहरू कटौती गरी राष्ट्रिय प्राथमिकताप्राप्त र सम्पन्न हुने चरणमा रहेका आयोजनाहरूको कार्यान्वयन एवम् क्षतिको पुनर्निर्माणमा प्राथमिकता दिएकोले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ ।