हेटौंडा \ मकवानपुरगढी गाउँपालिका वडा नम्वर –४ स्थित कालीदेवी दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २६ औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष बिदुर हुमागाईँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथि हुमागाईँले सहकारी संस्थाले किसानको हितलाई मध्येनजर गर्दै विभिन्न योजना तर्जूमा गरी त्यसको प्रभावकारी कार्यान्वयनतर्फ जोड दिनुपर्ने बताए ।
कृषकलाई प्रोत्साहन गर्ने विषयमा पालिकाले पनि सहकारी संस्थाहरुसंग सहकार्य गर्दै आइरहेको उनको भनाई छ । उनले पछिल्लो समय कालीदेवीको संस्थागत विकासमा उल्लेख्य प्रगति भएको भन्दै प्रशंसासमेत गरे । त्यस्तै कार्यक्रमका विशेष अतिथि द्वय मकवानपुरगढी वडा नम्वर ३ का अध्यक्ष भागवत घिमिरे र वडा नम्वर ४ का अध्यक्ष रामप्रसाद तिमल्सिनाले कृषक र सहकारी संस्थाबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताए ।
उनीहरुले सहकारीले कृषककोे हितमा ध्यान दिनुपर्ने र कृषक तथा उपभोक्ताले पनि प्राप्त गरेको सुविधाको सही समुपयोग गर्दै आफुलाई व्यवसायिक बनाउँदै लैजानुपर्ने बताए । कार्यक्रममा सहकारीका अध्यक्ष अर्जुनप्रसाद सापकोटाले संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक मेरबहादुर पाख्रिनले लेखा समितिको प्रतिवेदन र ऋण उप–समिति संयोजक हरिशरण दाहालले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पत्रकारितामार्फत् सहकारीको संस्थागत विकासमा योगदान पुर्याएको भन्दै पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य बलराम पुडासैनीलाई सम्मान गरिएको थियो । त्यस्तै संस्थाको शेयर सदस्य जेष्ठ नागरिक, टाढादेखि दूध बेच्न आउने किसान, गुणस्तरीय दूध बेच्ने किसान, धेरै दूध बेच्ने किसान र इमान्दार ऋणीलगायतलाई पनि सम्मान गर्नुको साथै दूघ बोक्ने भाँडासमेत वितरण गरिएको थियो ।
कार्यक्रममा सहकारीका अध्यक्ष सापकोटाले आफ्नो ४ बर्षको अवधिमा किसानलाई व्यवसायिक बनाउने योजनालाई प्राथमिकतामा राखेर काम गरिएको बताए । उनले साझेदारीमा दाना उद्योग स्थापना गरी किसानलाई सुपथ मूल्यमा ढूटो, चोकर, दानालगायतका पशुआहार सहज रुपमा उपलब्ध गराउने व्यवस्था मिलाइएको, किसानलाई जै, सुपर नेपियरलगायत विभिन्न जातका घाँसको बीउ तथा पशुस्वास्थ्यलाई ध्यानमा राखेर नाम्ले, गुकाविरुद्धको औषधी तथा दूघको शुद्धता कायम गर्न किसानलाई दूध छान्ने जाली वितरण गरिएको बताए ।
उनले शुपापालनका लागि किसानलाई सहुलियत ब्याजदरमा ५० हजार रुपैयाँसम्म ऋण उपलब्ध गराउने प्रबन्ध मिलाएको स्मरण गर्दै बर्षको दुई पटक पशु आहार, औषधी र घाँसको विषयमा किसानसँग अन्तरक्रिया गर्ने, उनीहरुलाई कृषि अवलोकन तथा भ्रमण गराउने र किसानलाई सहकारी शिक्षा प्रदान गर्ने प्रबन्ध मिलाउन यो कार्यसमिति सफल भएको बताए । दूग्ध प्रशोधन तथा उत्पादन विविधिकरण र बजारीकरण गर्नुको साथै किसानलाई नियमित रुपमा दूधको रकम वितरण गरिँदै आएको उनको भनाई छ ।
सहकारीले दूग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न अनुदानको व्यवस्था गरेको बताउँदै उनले दैनिक ३० लिटरभन्दा बढी दूध बेच्ने किसालाई ढुवानी भाडास्वरुप प्रतिलिटर १ रुपैयाँ दिने व्यवस्था मिलाइएको जानकारी दिए । त्यस्तै किसानले सहकारीमा विक्रि गरेको दूधको मूल्यमा प्रतिलिटर १ रुपैयाँका दरले कट्टा गरी सहकारीले प्रतिलिटर १ रुपैयाँ थप गरी किसानलाई चाडपर्वको अवसर पारेर वितरण गर्दै आएको बताए ।
किसानलाई सहकारीले प्रतिलिटर थप २ रुपैयाँ प्रदान गर्नुको साथै मकवानपुरगढी गाउँपालिकाले प्रतिलिटर १ रुपैयाँ र बागमती प्रदेश सरकारले २ रुपैयाँ अनुदान दिँदै आएको अध्यक्ष सापकोटाले प्रष्ट पारे । दूघ संकलनको विधिलाई सरल र प्रविधियुक्त बनाइनुको साथै किसानले विक्रि गरेको दूघको गुणस्तर, परिमाण र त्यसको मूल्यबारे उनीहरुलाई तत्कालै जानकारी गराई गुणस्तरयुक्त र सफा दूघ बेच्न परामर्श गरिँदै आएको पनि उनले बताए ।
वर्तमान समितिकै अगुवाइमा चिलिङ् भ्याट, जेनेरेटरलगायतका सामग्रीको व्यवस्थापन मिलाइनुको साथै २ कोठे गोदाम भवन निर्माण भएको उनको भनाई छ । कार्यक्रममा मनकामना दूग्घ उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन दाहाल, हिमाल महिला बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्ष जानुका दाहाल, राप्रपा नेता खिलप्रसाद चौँलागाई, श्रृजनशिल समाज साकोसका अध्यक्ष कृष्ण विडारी, माओवादी नेता भीम पाख्रिनलगायतको आतिथ्यता रहेको थियो ।