मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा रहेको जनजागृति बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा शनिबार भएको छ ।
संस्थाका अध्यक्ष इन्द्र बहादुर बस्नेतको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख अतिथ्यतामा सभा भएको थियो ।
सभामा बोल्दै गाउँपालिकाका अध्यक्ष हुमागाईले सहकारी अब उत्पादन तर्फ उन्मुख हुनुपर्ने बताउदैं दुध संकलन गर्दै आइरहेको यस संस्थाले किसानलाई व्यवसायिक पशुपालनमा जोड दिएर काम गर्नुपर्ने बताए । जिविकोपार्जन पशुपालन भन्दा व्यवसायिक पशुपालन गरेका गाउँपालिकाबाट सहयोग हुनुका साथै किसान क्रेडिट कार्ड मार्फत सहुलियत व्याजदरमा कर्जाको पनि सुविधा रहेको बताए ।
६४ हजार ९०० शेयर पुजीँ रहेको सहकारीले एक वर्षमा एक लाख ४२ हजार लिटर भन्दाबढी दुध संकलन गरी कारोबार गरेको छ । बचत र ऋणको पनि कारोबार गरेको सहकारीले ८ लाख ३२ हजार ८८० आम्दानी गरी एक लाख १५ हजार ९९९ खुद नाफा गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । सहकारीले शेयर सदस्यलाई १५ लाख ८२ हजार ७२४ कर्जा लगानी गरेको छ भने १५ लाख ७४ हजार ६२९ बचत निक्षेप रहेको छ ।
सहकारीले आफ्ना शेयर सदस्यलाई ६ सय लिटर भन्दा बढी दुध विक्री गर्नेलाई प्रतिलिटर एक रुपैयाँ, ९ सय लिटर बढी विक्री गर्नेलाई प्रतिलिटर २ रुपैयाँ र एक हजार पाँच सय भन्दा बढि विक्री गर्नेलाई ५ रुपैयाँ र ५ हजार भन्दा बढी विक्री गर्नेलाई एकमुष्ट पाँच हजार दिने गरेको छ ।
सहकारीले सभामा पाँच हजार भन्दा बढी दुध विक्रि गर्ने सावित्री दहाल र भीमबहादुर अधिकारीलाई नगद पाँच हजार सहित पुरस्कृत गरेको छ भने सबैभन्दा बढी बचत गर्ने राकेश घलान र कृष्णप्रसाद चौलागाईलाई नगद सहित पुरस्कृत गरिएको थियो ।
सभामा वडा नम्बर ५ का वडा अध्यक्ष जीत बहादुर घिमिरे, जनहित स्वावलम्बन साकोसका अध्यक्ष श्रीराम अर्जुन दहाल, तिलगंगा महिला बहुउद्देश्यीय सहकारीका अध्यक्ष रादिका छत्कुली, बुङदल सामुदायिक वनका अध्यक्ष चन्द्रप्रसाद दुलाल, थाकलडाँडा सामुदायिक वनका अध्यक्ष बलराम फुयाँल, संस्थाका निवर्तमान अध्यक्ष भीमबहादुर अधिकारी, पूर्व अध्यक्ष देवकुमारी विष्ट, लिलानाथ अधिकारी, सल्लाहकार यज्ञप्रसाद तिमल्सिना, लेखा समितिका संयोजक तेजबहादुर अधिकारी, आधारभूत शिक्षा प्राविका प्रअ प्रह्लाद घिमिरे, संस्थाका संस्थापक व्यवस्थापक बद्रीप्रसाद अधिकारी लगायतको अतिथ्यता रहेको थियो ।