September 25, 2022
खवरसहकारी |  मंसिर २२, २०७८  | 

 हेटौंडा \ देशकै ठूलो तथा वृहत चेन सुपर मार्केट भाटभटेनी सुपर मार्केटले बाग्मती प्रदेशको राजधानी  हेटौंडामा पनि स्टोर सञ्चालन गरेको छ । भाटभटेनीले मंगलबारदेखि बाग्मती प्रदेशको मकवापुर,हेटौंडामा स्टोर सञ्चालनमा ल्याएको हो । भाटभटेनीले हेटौंडा–२ चौकीटोलमा २० औं स्टोरको रुपमा आफ्नो सेवा शुभारम्भ गरेको हो ।

२० औं स्टोरको औपचारिक समारोहका बीच भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीन बहादुर गुरुङले विधिवत रुपमा शुभारम्भ गरेका छन् । सो अवसरमा सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङले देशका सबै प्रदेश तथा मुख्य शहरहरुमा स्टोर विस्तार गर्ने अभिायनमा रहेको बताउँदै हेटौंडामा शुभारम्भ भएको स्टोरसँगै देशभर २० वटा स्टोर सञ्चालनमा आएको बताए । स्वदेशमै अन्तराष्ट्रिय स्तरको सपिङ सुविधाको अनुभव गराउनुका साथै धेरै युवाहरुलाई रोजगार प्रदान गर्ने र आयबाट सामाजिक सेवा पनि गर्ने उद्देश्यले व्यवसायलाई प्रवद्र्धन गर्दै अगाडि बढेको जनाए।

उनले भने ‘हामीले भाटभटेनीलाई सातै प्रदेशका मुख्य शहरमा पुर्याउने लक्ष्यका साथ स्टोर विस्तार गरेका छौं । यहाँ स्थापना भएको स्टोरले हेटौंडामा सुपर मार्केटको सेवासँगै आर्थिक चलायमान हुनुका साथै पर्यटनमा पनि टेवा पुग्ने हाम्रो विश्वास रहेको छ । यो व्यवसायसँगै मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने,धेरै भन्दा धेरैलाई रोजगार प्रदान गर्ने र आयबाट पनि समाजमा सेवा गर्ने हाम्रो अभियान हो।’

शुभारम्भको अवसरमा ग्रोसरी,लत्ता–कपडा लगाएत सम्पूर्ण सामानमा १० प्रतिशत र विद्युतिय सामग्रीमा २० प्रतिशत छुट उपलब्ध रहेको भाटभटेनी सुपर मार्केटका बजार व्यवस्थापक विनोद भट्टराईले बताए । शुभारम्भ समारोहमा हेटौंडाका विभिन्न संघ–संस्था,क्षेत्र तथा वर्गका ७० हजार भन्दा बढी व्यक्तित्वहरुलाई निमन्त्रणा गरेको उनले जनाए ।

साढे १४ कट्ठामा क्षेत्रफल रहेको स्टोरमा कुल क्षेत्रफल १ लाख ३४ हजार वर्गफिटका २ वटा बेसमेन्टसहित ८ तले भवन रहेको र दुबै बेसमेण्टमा पार्किङको व्यवस्था रहेको सुपर मार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलले बताए । भाटभटेनी हेटौंडामा केएफसी र पेपे पिजाले पनि सेवा शुभारम्भ गरेको र निकट भविष्यमा क्यूएफएक्स पनि सञ्चालनमा आउने तयारी रहेको उनले जनाए ।

स्टोरमा खाद्यान्न, फलफूल, हरियो तरकारी, फ्रोजन आइटम, हाउस होल्डका सामान,कस्मेटिक सामग्री, किचनवेयर, भाँडाकुँडा, बालबालिकाका खेलौना र शृङ्गारका सामग्री,महिला र पुरुषका तयारी गार्मेन्ट, सारी, कुर्ता ,ब्राण्डेड फेन्सी सामग्री,जुत्ता–चप्पल लगाएतका फुटवेयर सामग्री, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर जस्ता इलेक्ट्रोनिक्स सामग्री,फर्निचर लगाएत दैनिक उपभोग्य सम्पूर्ण सामानहरु उपलब्ध रहेको बजार व्यवस्थापक भट्टराइले बताए ।

व्यवसायसँगै स्टोर विस्तारमा तिव्र गतिमा अगाडि बढेको भाटभटेनीको यात्रामा कोभिड–१९ बाधक बनेतापनि बिस्तारै गति लिन थालेको अध्यक्ष गुरुङ बताउँछन् । कोभिड महामारीका समय देश र जनतालाई समस्या परेको महसुस गर्दै भाभटेनी सुपर मार्केटले सातै प्रदेशलाई २५–२५ लाख सहयोग प्रदान गरेको थियो । त्यसैगरी काठमाण्डौंस्थित टिचिङ अस्पतालका लागि करोडौं खर्चेर २ वटा बिल्डिङ बनाएको भाटभटेनीले विभिन्न सामाजिक कार्यहरु गर्नुका साथै समाज कल्याणमा करोडौं लगानी गर्दै आएको छ ।

यसै क्रममा हेटौंडास्थित स्टोर सञ्चालन पूर्व चौकीटोलको ५ सय मिटर बढी मुख्य सडक तथा नाला स्तरोन्नतीका साथै वृक्षारोपण गरेको छ । स्टोरले आफ्नो क्षेत्रमा सडक चौडा र व्यवस्थित नालाका साथै आकषर्ण बनाउनका लागि स्थानीय तहको समन्वयमा आफ्नै करिब ८० लाख खर्चेको व्यवस्थापक भट्टराईले बताए ।

भक्तपुरमा १, ललितपुरमा २ ,काठमाण्डौंमा ९, सुनसरीको धरानमा १,मोरङ्गको विराटनगरमा १, चितवनमा १,पोखरामा १, रुपन्देहीको बुटवल र भैरहवामा गरी २ , बाँकेको नेपालगञ्जमा १ र सुनसरीको इटहरीमा १ र मकवानपुरको हेटौंडामा गरी हालसम्म भाट–भटेनीका २० वटा स्टोर सञ्चालनमा आइसकेको उनले जनाए। यस लगत्तै काठमाण्डौंमा थप २ वटा र धनगढीमा १ स्टोर सञ्चालन शुभारम्भ गर्ने भाटभटेनीको तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published.