April 20, 2024
मंसिर २१, २०७८

काठमाडौं \ साताको पहिलो दिन शेयर कारोबार मापक नेप्से परिसूचक ७२ अंकले घट्यो । बजार घट्ने क्रमले निरन्तरता सोमबार पनि पाउने लगानीकर्ताहरुको अनुमान थियो । नभन्दै सोमबार पनि कारोबार खुला भएसँगै लगातार घट्ने क्रम शुरु भयो । कारोबार शुरु भएको एक घण्टामै ७२ अंकले बजार घटेपछि लगानीकर्ताहरु आत्तिए ।

तर मध्याह्न बजारमा नाटकीय सुधार देखियो । १२ बजेर ४ मिनेटपछि बजार सम्हालिने क्रम शुरु भयो । घटेको अंंक कम हुँदाहुँदै ३२ अंकको शानदार वृद्धिपछि बजार बन्द भएको छ ।

सोमबार बजार बढ्नुको कारणबारे लगानीकर्ताका आ–आफ्नै अनुमान छ । अनपेक्षित रुपमा बढेको बजारको कारणबारे नेपाल इन्भेष्टर्स फोरमकी महासचिव दुर्गा तिवारी संसदीय समितिको निर्णय भएको बताउँछिन् ।

प्रतिनिधि सभाको अर्थ समितिले शेयर बजारमा भइरहेको गिरावटबारे चासो देखाएको छ । अर्थसमितिले सोमबार अर्थन्त्रालय र राष्ट्र बैंकका अधिकारीका साथै अन्य सरोकारवालालाई बोलाएर छलफल गराउने तयारी गरेको छ । अर्थसमितिले दिएको जानकारी अनुसार आगामी बिहीबार छलफलका लागि बोलाइएको छ ।

संसदीय समितिको यो सक्रियताले सोमबार लगानीकर्ताहरुको मनोबल बढाउन भूमिका खेलेको उनी बताउँछिन् । संसदीय समितिले नीतिगत सुधारहरु गर्नुपर्ने आवश्यकता ठानेको अवस्थामा सरकारलाई निर्देशन दिन सक्छ । यसकारण पनि बजारलाई सकारात्मक असर परेको उनी बताउँछिन् । अर्को तर्फ सोमबारमात्रै नेपालमा पनि कोरोना भाइरसको भेरियण्ट ओमिक्रोन समेत पुष्टि भएको छ ।

कोरोनाको त्रासका कारण दशेमा गरिएको लकडाउनपछि शेयर बजारमा निकै राम्रो असर गरेको थियो । अर्थतन्त्रका अन्य क्षेत्रहरु पूर्ण रुपमा बन्द हुँदा पनि शेयर बजार खुला भइरहेका कारण कोरोनाको सकारात्मक असर दखिएको थियो ।

‘लकडाउनमा बजार निकै राम्रो बढेको हो, भोलि पुनः लकडाउन हुनसक्ने अवस्था आउने हो भने बजार धेरै माथि जानसक्छ’ शेयर लगानीकर्ता नयन बास्तोला बताउँछन् ।

शेयर बजारमा सक्रिय रहेका लगानीकर्ता बास्तोलाको बुझाइमा लगानीकर्ताहरु आन्दोलनमा उत्रने तयारीका कारण पनि सकारात्मक असर परेको छ । नीतिगत सुधारका लागि सबै लगानीकर्ताहरु एक ठाउँमा उभिने भन्दै सोमबार भेला बोलाइएको थियो । यो भेलाले गर्ने निर्णयपछि सरकारलाई नीतिगत सुधार गर्न दबाब बढ्ने सन्देश लगानीकर्तामा गएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *