हेटौँडा \ सूर्यदेवको उपासना र आराधना गरी मनाइने छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै छ । चार दिनसम्म मनाइने छठ पर्व शुक्रबारदेखि सुरु भएको हो ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा व्रतालुहरूले कठोर व्रत बसेर सूर्यदेवको पूजा आराधना गर्ने गर्छन् । पर्वको मुख्य दिन आज कार्तिक शुक्ल षष्ठीमा निराहार व्रत बसेका व्रतालुहरूले साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने धार्मिक विधि रहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समिति गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले जानकारी दिए । “षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ,” उनले भने ।
छठ पर्वको पहिलो दिन चतुर्थीमा स्नान गरी एक छाक भोजन गर्ने परम्परा छ । दोस्रो दिन पञ्चमीमा सखर हालेर बनाइएको खीर अर्थात् खरना षष्ठी मातालाई चढाई प्रसादका रूपमा ग्रहण गरिन्छ । यस दिन व्रतालुहरूले नुन नखाई फलाहार गर्ने गर्छन् । षष्ठीका दिन निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुन्छ ।
छठ पर्वमा सूर्यदेवलाई झुप्पा–झुप्पा फलफूल, ठेकुवा, भुसुवा लगायतका प्रसाद चढाउने गरिन्छ । दुःख र दरिद्रताबाट मुक्ति पाइने तथा परिवारका सदस्य र सन्तानको सुख, समृद्धि र कल्याण हुने धार्मिक विश्वासका साथ यो पर्व मनाइन्छ ।
महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा आफ्नो गुप्तवास सफल होस् भन्ने कामनासहित सूर्यदेवको आराधना गरेका थिए । त्यही समयदेखि छठ पर्व मनाउने परम्परा सुरु भएको जनविश्वास छ । सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको उल्लेख छ ।
सूर्यको किरणलाई जीवन र भौतिक विकासको आधार मानिन्छ । सूर्यको शक्तिविना वनस्पति, प्राणी तथा जीवजन्तुको अस्तित्व सम्भव नहुने धार्मिक तथा प्राकृतिक मान्यता छ । पुराणमा श्रीकृष्णका पुत्र साम्ब सूर्यदेवको आराधनाबाट कुष्ठरोगमुक्त भएको प्रसंगसमेत उल्लेख छ ।
२०४६ सालअघि तराईका सीमित क्षेत्रमा मनाइने छठ पर्व अहिले राष्ट्रिय पर्वका रूपमा स्थापित भएको छ । देशका विभिन्न भागमा श्रद्धा र भक्तिपूर्वक मनाइने यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिने गरेको छ ।
छठ पर्वका लागि काठमाडौं उपत्यकाका गुह्येश्वरी–गौरीघाट, गहनापोखरी, नागपोखरी, कमलपोखरी तथा वागमती, नख्खु र विष्णुमती नदी किनारमा घाट सजावट गरिएको छ । व्रतालुहरू चतुर्थीदेखि नै चोखो खानपान र शुद्ध आचरणमा रहेर पर्व मनाउने तयारीमा जुटेका छन् ।
आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रतालुहरू रातभर जाग्राम बस्नेछन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिन लामो छठ पर्व विधिपूर्वक समापन हुनेछ ।

