हेटौंडा \ हेटौंडा २ बुद्धचोकमा रहेको ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको २७ औँ वार्षिक साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष राजु अधिकारीको सभाध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।
सहकारीले सभाको अवसरमा विभिन्न विधामा सदस्यहरुलाई सम्मान गरिएको थियो । जेष्ठ शेयर सदस्यतर्फ राधाकुमारी बुढाथोकी, नियमित बचततर्फ जीतबहादुर खड्का र नवराज घलानलाई सम्मान गरिएको थियो । त्यस्तै, असल ऋणीतर्फ लक्ष्मीकुमारी तिमल्सिना र प्रदीप लामा भोम्जन, बालबचततर्फ आरोही बराइली, कर्मचारीतर्फ कर्जा व्यवस्थापक रनुपा गुरुङलाई सम्मान गरिएको थियो ।
सहकारीले संस्थापक शेयर सदस्यलाई पनि सम्मान गरिएको थियो । सम्मानित संस्थापक शेयर सदस्यहरुमा कान्छी पुडासैनी, राजेन्द्र प्रसाद पुडासैनी, युवक बहादुर पुडासैनी र कृष्णप्रसाद घिमिरे रहेका थिए । उत्कृष्ट सञ्चालक समितितर्फ भने संस्थाका सचिव रविन ढकाललाई सम्मान गरिएको थियो ।

त्यस्तै, संस्थाका अध्यक्ष राजु अधिकारीले संस्थाबाट पाउने भत्ता रकममा थप गरेर दुई छात्राहरुलाई जनही नगद १० हजार प्रदान गरेका थिए । हेटौंडा १८ ज्योति माविमा अध्ययनरत निर्विका थापामगर र हेटौंडा ७ नवज्योति माविमा अध्ययनरत स्वीकृती दर्लामी मगरलाई अध्यक्ष अधिकारीले नगद प्रदान गरेका हुन् । त्यस्तै, एसईइ परीक्षामा उत्कृष्ट हुने एन्जिला घलान र प्रतिक तिवारीलाई नगद सहित पुरस्कृत गरिएको थियो ।
२ करोड ३३ लाख ३९ हजार शेयर पुजीँ रहेको सहकारीले ९ करोड ७३ लाख ४४ हजार कर्जा लगानी गरेको संस्थाका व्यवस्थापक पुष्पा क्षेत्रीले बताइन् । सहकारीमा ६ करोड ३१ लाख ४० हजार बचत निक्षेप रहेको छ भने जगेडा कोषमा ७२ लाख ९२ हजार ४७५ रुपैयाँ रहेको उनले बताइन् । चालु आव २०८३/०८४ मा १३ करोड २ लाखको कारोबार गर्ने प्रस्तावित बजेट रहेको भन्दै सभामा कोषाध्यक्ष राजेन्द्र प्रसाद पुडासैनीले चालु आवको प्रस्तावित खर्च आम्दानी विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष कृष्णप्रसाद पुडासैनी, लेखा समितिका संयोजक पूर्णप्रसाद पुडासैनी, मकवानपुर उद्योग वाणिज्य संघका सचिव नेत्रप्रसाद खतिवडा, कुखुरा व्यवसायी संघका अध्यक्ष गोविन्द सापकोटा, संस्थाका उपाध्यक्ष बालकृष्ण न्यौपाने, सल्लाहकार शरन बहादुर घलान लगायतको आतिथ्यता रहेको थियो ।

