हेटौंडा \ रसुवा जिल्लाका बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि हेटौंडा ४ थाहाचोक स्थित श्री मित्रमिलन बहुउद्देश्यीय सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । संस्थाका व्यवस्थापक रामहरि खरेलले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु सबैको साझा दायित्व भएको बताउँदै उक्त रकम सहयोगस्वरूप कोषमा जम्मा गरिएको उनले बताए ।

अध्यक्ष भोला प्रसाद शर्मा खरेलले विपद्को समयमा पीडित परिवारलाई साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै मानवीय सेवाको भावनाले सहयोग रकम गरिएको बताए । उनले राहत तथा पुनःस्थापनाका लागि संकलित रकम पारदर्शी र प्रभावकारी रूपमा प्रभावित क्षेत्रमा परिचालन हुनुपर्नेमा समेत जोड दिएका छन् ।

रसुवामा आएको बाढीका कारण प्रभावित बनेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, स्थानीय तह तथा व्यक्तिहरूले सहयोग गर्ने क्रम जारी रहेको छ । मकवानपुरबाट विभिन्न सहकारी संघ संस्थाहरुले सहयोग स्वरुप कोषमा जम्मा गरेका छन् ।