हेटौँडा \ हेटौँडा–८ कमाने स्थित सर्वोत्तम सुन्दर संचिती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवा बाढी पीडितका लागि सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । बिहीबार सहकारी संस्थाका पदाधिकारीले वडा कार्यालयमा सहयोग रकमको चेक हस्तान्तरण गरेको छ । वडा कार्यालयले प्राप्त चेक प्रधानमन्त्री राहत कोषको खातामा जम्मा गरिदिने वडाध्यक्ष रामकृष्ण थापाले जानकारी दिए ।

सहकारीका अध्यक्ष रामबहादुर बस्नेतले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु हामी सबैको सामाजिक दायित्व भएको बताए । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडामा केही भए पनि मलम लगाउने उद्देश्यले सहकारीको तर्फबाट सहयोग गरिएको बताउँदै अन्य संघसंस्था तथा नागरिकलाई समेत मानवीय सहयोगमा जुट्न उनले आग्रह गरे ।

“विपद् कसैमाथि पनि आउन सक्छ। अहिले रसुवा, नुवाकोटका नागरिक दुःखमा हुनुहुन्छ। यस्तो अवस्थामा आर्थिक रूपमा सक्नेले सहयोग गर्नु हाम्रो मानवीय र सामाजिक दायित्व हो। सानो सहयोगले पनि पीडित परिवारलाई ठूलो राहत महसुस गराउन सक्छ।” अध्यक्ष बस्नेतले भने ।