हेटौँडा \ रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले हेटौंडा ७ मा रहेको हेटौँडा बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ ।

बाढीका कारण प्रभावित दिदीबहिनी तथा दाजुभाइहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाको तर्फबाट उक्त रकम प्रदान गरिएको संस्थाका कार्यबहाक व्यवस्थापक सुशील सुवेदीले बताए । संस्थाले वित्तीय कारोबारसँगै सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा समेत आफ्नो सक्रियता रहेको बताउँदै सहकारीले विपत्तिमा एक्यवद्धता रहेको बताए ।

संस्थाका अध्यक्ष राजु वाईवाले विपत्तिको समयमा पीडित नागरिकलाई साथ दिनु सामाजिक उत्तरदायित्वसँगै मानवीय दायित्व पनि भएको बताए । विपत्तिको समयमा पीडित नागरिकको दुःखमा साथ दिनु नै सहकारीको वास्तविक मर्म हो । राहत र पुनःस्थापनाका लागि संस्थाको तर्फबाट सानो भए पनि सहयोग गर्न पाउँदा हामीलाई खुसी लागेको छ, अध्यक्ष वाईवाले भने । विपदमा परेका नागरिकको उद्धार तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सक्दो सहयोग र सहकार्य आवश्यक रहेको समेत बताए ।

संस्थाले ‘सहकारीको मर्म, संकटमा सहकार्य नै हाम्रो धर्म’ भन्ने भावनासहित सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।