हेटौँडा \ रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि हेटौंडा १३ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाले एक लाख १६ हजार सात सय ५५ सहयोग गरेको छ । भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले राहत तथा उद्धारका लागि स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी संस्थाले उक्त रकम सहयोग गरेको हो ।

संस्थाको विपद् व्यवस्थापन कोषबाट ४६ हजार, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति तथा विभिन्न उपसमितिबाट १७ हजार पाँच सय, सम्पूर्ण कर्मचारीको डेढ दिन बराबरको तलबबाट २४ हजार २५५ तथा संस्थाबाट अवकाश लिएका कर्मचारीहरू सरस्वती घलान २० हजार र मीरा तामाङबाट १० हजार गरी एक लाख १६ हजार ७५५ सहयोग गरिएको संस्थाका प्रमुख व्यवस्थापक फूलमाया मोक्तानले बताइन् । । सहकारी केवल बचत तथा ऋणको कारोबार गर्ने संस्था मात्र नभई समुदायको सुख–दुःखमा साथ दिने सामाजिक संस्था पनि रहेका सहयोग गरिएको मोक्तानले बताइन् ।

संस्थाका अध्यक्ष मीना थापाले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्व भएको बताइन् । भोटेकोशी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । यस्तो दुःखद् परिस्थितिमा पीडित परिवारको पीडामा थोरै भए पनि मल्हम लगाउने उद्देश्यले संस्थाको तर्फबाट सहयोग गरेका हौँ, अध्यक्ष थापाले भनिन् । हाम्रो सानो सहयोगले पीडित परिवारमा आशाको भावना जगाउन सक्छ । विपदमा एकले अर्कालाई साथ दिने संस्कारलाई अझ बलियो बनाउनुपर्ने अध्यक्ष थापाको भनाइ रहेको छ ।