हेटौँडा \ हेटौंडा ११ नवलपुरमा अवस्थित नवयुवा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८औँ स्थापना दिवस सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग जोडेर मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८४ हजार ३ सय रुपैयाँ सहयोग रकम जम्मा गरेको छ ।
भदौ १० गते रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको संस्थाका अध्यक्ष गोविन्द पुडासैनीले बताए । उनका अनुसार शेयर सदस्यहरूबाट प्रतिव्यक्ति २० का दरले ४४ हजार ३ सय, ९ जना सञ्चालकबाट प्रतिव्यक्ति एक हजारका दरले नौ हजार, कर्मचारीहरूको एक दिनको तलबबाट ६ हजार र स्थापना दिवसका लागि छुट्याइएको सहकारीको बजेटबाट २५ हजार गरी ८४ हजार तीन सय रुपैयाँ संकलन गरिएको बताए ।
अध्यक्ष पुडासैनीले स्थापना दिवसलाई केवल उत्सव र शुभकामना आदानप्रदानमा सीमित नगरी सामाजिक सेवासँग जोड्ने संस्थाको परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको बताए । “स्थापना दिवस हाम्रो लागि खुसीको दिन हो, तर समाजका नागरिक दुःख र विपत्तिमा रहेका बेला त्यो खुसीलाई मात्र उत्सवका रूपमा मनाउनु उपयुक्त हुँदैन । त्यसैले स्थापना दिवसका लागि छुट्याइएको रकममा सञ्चालक, कर्मचारी र शेयर सदस्यहरूको योगदान थपेर विपत्तिमा परेका परिवारलाई सहयोग गरेका हौँ।” उनले भने ।
नवयुवा साकोसले विगतदेखि नै स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै आएको छ । संस्थाले विभिन्न वर्षमा रक्तदान, रचनात्मक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्नुका साथै वृद्धाश्रममा खाद्यान्न वितरणलगायतका सेवा कार्य गर्दै आएको कार्यबहाक व्यवस्थापक सुभाष अर्यालले बताए । यस वर्षको सहयोगले आफ्नो स्थापना दिवसलाई विपत्तिमा परेका नागरिकको पीडामा साथ दिने र मानवीय सेवाको भावनालाई थप मजबुत बनाउने अवसरका रूपमा स्मरणीय बनाएको अर्यालको भनाइ छ । स्थापना दिवसको खुसीलाई सेवाको भावनासँग जोड्दै दुःखमा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउन पाउनु नवयुवा साकोस परिवारका लागि सन्तोष र गौरवको विषय रहेको उनले बताए ।
संस्थाले बाढीपहिरोलगायतका प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता नागरिकको सकुशल खोजी तथा उद्धारको कामना गरेको समेत गरेको छ ।


