हेटौँडा \ हेटौँडा–२ स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा सहयोग गरेको छ । बुधबार रसुवा जिल्लाको भोटेकोशी नदिमा आएको बाढीले क्षति पु¥याएको रसुवा, नुवाकोट र धादिङ जिल्लाका पीडितलाई राहत तथा उद्दारका लागि संघीय सरकारले सहयोगका लागि आव्हान गरेसँगै हातेमालोले १ लाख ७३ हजार १ सय ९७ रुपैयाँ सहयोग गरेको छ ।

सहकारीकी व्यवस्थापक रमला सापकोटाका अनुसार कर्मचारीको एक दिनको तलब बराबर १३ हजार ५७ रुपैयाँ, ३ हजार १ सय २७ जना सेयर सदस्यबाट प्रतिसदस्य २० रुपैयाँका दरले ६२ हजार ५४० रुपैयाँ, समिति, उपसमितिको एकदिनको भत्ता वापत ४७ हजार छ सय रुपैयाँ र सहकारीको कोषबाट ५० हजार रुपैयाँसहित कुल एक लाख ७३ हजार एक सय ९७ रुपैयाँ सहयोग गरिएको हो । सहयोग रकम बिहीबार कोषमा राखिदिइसकेको व्यवस्थापक सापकोटाले जानकारी दिनुभयो ।

रसुवा बाढीपीडितका लागि राहत तथा उद्दार गर्न सरकारी कोषमा मकवानपुरबाट सहयोग गर्ने क्रम जारी छ । यसअघि समृद्ध समाज राष्ट्रिय दैनिक र रेडियो निकास, हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड, मकवानपुर उद्योग वाणिज्य संघले पनि सहयोग गरेको छ । व्यक्तिगत रुपमा पनि उल्लेख्य संख्यामा सहयोग हस्तान्तरणको क्रम चलिरहेको छ ।