मकवानपुर \ बागमती प्रदेश सरकारले स्वरोजगार व्यवसायीलाई कर्जा व्याज अनुदान दिने तयारी गरेको छ । प्रदेश सरकारले सहुलियतपूर्ण व्यवसाय कर्जामा लाग्ने व्याजमा अनुदान दिने गरी प्रक्रिया अगाडि बढाएको हो ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशभर उद्यमशीलता विकास र रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण कर्जामा लाग्ने व्याजमा अनुदान प्रदान गर्ने भएको हो । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा हेटौँडामा आयोजित स्वरोजगार व्यवसाय कर्जा व्याज अनुदान कार्यविधिको बारेमा सरोकारवाला निकायसँगको अन्तरक्रिया कार्यक्रममा उद्यमशीलता विकास र रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण कर्जामा लाग्ने व्याजमा अनुदान प्रदान गर्ने जानकारी गराइएको थियो । कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०८३/०८४ मा सहुलियतपूर्ण कर्जामा लाग्ने व्याजमा अनुदान प्रदान गर्न २० करोड रुपियाँ विनियोजन गरिएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले उद्योग व्यवसाय सञ्चालनका लागि कर्जामा व्याज अनुदान प्रदान गर्न बजेट विनियोजन गरिएको जानकारी दिए । उनले वित्तीय संस्थामा रहेको तरलता बढेको र लगानी हुन नसकेकोले अर्थतन्त्र चलायमान बनाउनसमेत नयाँ कार्यक्रम ल्याएको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष वेदबहादुर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य शङ्कर गिरी, मन्त्रालयका प्रशासन महाशाखा प्रमुख नुमानन्द अधिकारीलगायतले सहुलियतपूर्ण कर्जाको व्याजमा अनुदान कार्यक्रमका बारेमा चर्चा गरेका थिए । सहुलियतपूर्ण कर्जाको अवधि बढीमा पाँच वर्ष हुने, कर्जामा बढीमा पाँच वर्षसम्म अनुदान प्राप्त हुने र बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा पाँच प्रतिशत व्याज प्रदेश सरकारले अनुदान स्वरुप प्रदान गर्ने छ ।


