नेपाल आयल निगम लिमिटेडले आइतबार रातिबाट लागू हुने गरी पेट्रोल तीन र डिजेल तथा मट्टीतेल समान पाँच रुपैयाँ प्रतिलिटर बढाएको छ । मूल्यवृद्धिपछि काठमाडौंमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समान दुई सय रुपैयाँ प्रतिलिटर पुगेको छ ।
त्यस्तै, आन्तरिक हवाई इन्धन २० रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन एक सय ३१ डलर प्रतिकिलोलिटर वृद्धि भएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ । शनिबार दिउँसो इन्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएका कारण नेपालमा पनि मूल्य समायोजन गरेको निगमले जनाएको छ । मूल्यवृद्धिपछि हवाई इन्धन आन्तरिक दुई सय ४९ रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन प्रतिकिलोलिटर १५ सय ६६ डलर पुगेको छ ।
निगम प्रवक्ता मनोज ठाकुरले आइओसीबाट शनिबार मूल्य प्राप्त भए पनि सार्वजनिक बिदा भएका कारण मूल्य समायोजन गर्न केही ढिलाइ भएको बताए । उनका अनुसार ठुलो दरले परिवर्तन भएका कारण सञ्चालक समिति बैठक बसेर मूल्य समायोजनको निर्णय भएको हो । निगमले मूल्य समायोजनको निर्णय गरेपछि काठमाडौं, दिपायल र पोखरामा पेट्रोल–डिजेल समान दुई सय रुपैयाँ प्रतिलिटर पुगेको छ ।



