काठमाडौँ \ बागमती प्रदेशकी भौतिक पूर्वाधार विकासमन्त्री विनु रायमाझीले समस्याग्रस्त र सही तरिकाले चलिरहेका सहकारीलाई एउटै दृष्टिकोणले हेर्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताएकी छन्।
बुधबार काठमाडौँमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) को सातौँ स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन्। उनले समस्याग्रस्त सहकारीमा देखिएका समस्या समाधान र व्यवस्थापन गर्न बागमती प्रोस्कुनले भूमिका खेल्नुपर्ने समेत बताइन्। प्रदेशमा रहेका सहकारीका समस्या समाधान गर्न सहकारी ऐन संशोधनको चरणमा रहेको उनले उल्लेख गरिन्। संशोधन प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भइसकेको र छिट्टै प्रदेश सभाबाट पनि पारित हुने विश्वास उनले व्यक्त गरिन्। पूर्वसहकारी मन्त्री समेत रहेकी रायमाझीले संघीय सहकारी ऐनसँग बाझिएका वा संशोधन गर्नुपर्ने विषय पहिचान गरी समायोजनका लागि सिफारिस भइसकेको जानकारी दिइन्।
कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले भनिन्, ‘हामीले सहकारी ऐन संशोधनको कुरा गरिरहेका थियौँ। उक्त संशोधन प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ।’ उनले सरोकारवालाको सुझावका आधारमा ऐन संशोधन प्रस्ताव गरिएको र त्यो छिट्टै आउने विश्वास व्यक्त गरिन्।
सहकारी क्षेत्रका समस्या हल गर्न बागमती प्रोस्कुनले गरेको काम प्रशंसनीय रहेको बताउँदै उनले थपिन्, ‘सहकारी क्षेत्रको समस्या समाधान र थप कार्यक्रमका लागि बजेटसमेत विनियोजन गरिएको छ।’ अहिले बचत तथा ऋणको कारोबार गर्न नपाउने निर्णयले असहज भएको हुन सक्ने उल्लेख गर्दै उनले कार्यक्रम सञ्चालनका लागि केही बजेट छुट्याइएको जानकारी दिइन्।
रायमाझीले समस्याग्रस्त सहकारीलाई सुधार गर्न र राम्रालाई पुरस्कृत गर्न प्रभावकारी काम गर्न आग्रह गरिन्। उनले भनिन्, ‘अहिले जसरी समस्याग्रस्त र सही ढङ्गले चलेका सहकारीलाई एउटै दृष्टिकोणले हेर्ने गरिएको छ। यसको अन्त्य गर्न लाग्नुहोस् भन्ने सुझाव दिन चाहन्छु।’ उनले सहकारी क्षेत्रका समस्या हल गर्न भूमिका खेल्न बागमती प्रोस्कुनलाई आग्रहसमेत गरिन्।


