मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा निर्माण भएको बहुउद्देश्यीय कृषि उपज संकलन केन्द्र भवनको हस्तान्तरण गरिएको छ । सोमबार एक कार्यक्रमका बीच वडा ५ का वडाध्यक्ष दिपेश दहालले भवनको उद्घाटन गर्दै जनजागृति बहुउद्देश्यीय सहकारी संस्थालाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण गर्दै वडाध्यक्ष दहालले सहकारीले अब दुध संकलनमा मात्रै नभई, पशुआहार, कृषि मल तथा अन्य कृषि उपजहरु खरिद बिक्री गर्न सहजता रहने बताए । थप भवनले कार्यालय सञ्चालनमा सहजता पुग्नुका साथै संकलन, खरिद र बिक्रीमा थप व्यवस्थापन रहने बताए ।

संस्थाका अध्यक्ष हिरामणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार ईन्द्रबहादुर बस्नेत, यज्ञप्रसाद तिमल्सिना, नारायण प्रसाद न्यौपाने, संस्थाका उपाध्यक्ष एंव भवन निर्माण समितिका अध्यक्ष बालकुमारी दुलाल लगायतको अतिथ्यता रहेको थियो ।

भवन निर्माणमा बागमती प्रदेशबाट विनियोजित १६ लाख २० हजार र सहकारी संस्थाको चार लाख रकममा भवनको निर्माण गरिएको संस्थाका व्यवस्थापक राजन घिमिरेले बताए ।