नेपालमा विदेशी विनिमय सञ्चिति ऐतिहासिक रूपमा बढ्दै गएको छ । जेठ मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति साढे ३७ खर्ब रुपैयाँबराबर पुगेको राष्ट्र बैंकले जनाएको छ ।

चालू आर्थिक वर्षको ११ महिनामा विदेशी विनिमय सञ्चिति ४०.३ प्रतिशतले बढेको हो । ०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति जेठ मसान्तमा ३७ खर्ब ५५ अर्ब ६४ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २६.५ प्रतिशतले बढेर २४ अर्ब ६८ करोड पुगेको छ । असार मसान्तसम्ममा अमेरिकी डलरमा विदेशी विनिमय सञ्चिति १९ अर्ब ५० करोडबराबर रहेको थियो ।

समीक्षा अवधिमा एकातर्फ रेमिट्यान्स आय उच्चदरमा बढेको छ भने अर्कातर्फ आयात वृद्धिदर औसत मात्रै रहेको छ । निर्यात वृद्धिदरसमेत सन्तोषप्रद रहेको देखिन्छ । नेपालको शोधनान्तर अवस्थासमेत नौ खर्बभन्दा बढीले बचतमा रहन पुगेको छ । यसरी विदेशी विनिमय सञ्चिति ऐतिहासिक विन्दुमा पुगेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा तीन खर्ब ३० अर्ब सात करोड पुगेको र बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग चार खर्ब २५ अर्ब ५७ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

अहिलेको विदेशी विनिमय सञ्चितिले २२.५ महिनाको वस्तु आयात र १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले उल्लेख गरेको छ । विदेशी विनिमय सञ्चितिको अनुपात कुल गार्हस्थ्य उत्पादनसँग ६१.५ प्रतिशतबराबर पुगेको छ । त्यस्तै, कुल आयातसँग ६१.५ प्रतिशत र विस्तृत मुद्राप्रदायसँग १५९.५ प्रतिशतबराबर हुन पुगेको छ ।