मकवानपुरगढी \ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा रहेको जनजागृति बहुउद्देश्यीय सहकारी संस्थाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँगको सहकार्यमा सोमबार २३ औं राष्ट्रिय धान दिवस मनाएको छ । दिवस कार्यक्रमलाई रेडियो थाहा सञ्चारको समन्वयमा प्रत्यक्ष प्रशारण समेत गरिएको थियो ।
सहकारीका अध्यक्ष हिरामणी दहालको अध्यक्षता तथा वडा ५ का वडा अध्यक्ष दिपेश दहालको प्रमुख आतिथ्यतामा धान दिवस मनाइएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष दहालले कृषि क्षेत्रमा पछिल्लो समय बदलिँदो प्रविधिसँग जोडेर आधुनिक कृषि कर्ममा किसानहरु रहेको बताए । वर्षभरी पुग्ने मानो रोपेर मुरी फलाउने भन्दै यस समयमा धान खेती गरिने उनले बताए । वडाको तल्लो समथर क्षेत्रमा असार र चैत महिनामा धान लगाउन सकिन्छ, वडाध्यक्षले भने । अब किसानलाई परम्परागत भन्दा पनि व्यवसायिक खेतीतर्फ वडा, पालिका र प्रदेश सरकार लाग्नुपर्ने बताए ।
गाउँपालिकाले युवा लक्षित कार्यक्रम ल्याई व्यवसायिक तरकारी खेती, पशुपालनमा अनुदान दिई युवाहरुलाई गाउँमै स्वरोजगार बनाउँदै आइरहेको बताउँदै वडाध्यक्ष दहालले पालिकाभित्र ड्रागन फ्रुट खेतीको वृद्धि विकास भएको छ ।

कार्यक्रममा कृषि विज्ञ घमराज तिमलिसनाले कृषिलाई आधुनिकिकरण गर्दै अघि बढ्नुपर्ने बताए । रसायनिक मलको प्रयोगले विषादी भएका तरकारी, अन्नबाली उत्पादन भइरहेको बताउँदै किसानहरुले जैविक मल वा कम्पोष्ट मलको प्रयोगमा वृद्धि गरिनुपर्ने सुझाएका थिए ।
कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, सहकारीका सल्लाहकार, संस्थाका पदाधिकारी, शेयर सदस्य र स्थानीय किसानहरुको सहभागिता रहेको थियो । कार्यक्रममा धान दिवस कार्यक्रमको बारे रेडियो थाहा सञ्चारका स्टेशन म्यानेजर गोकुल अधिकारीले प्रष्ट्याएका थिए । सहकारीका व्यवस्थापक राजन घिमिरेले गतवर्ष झैँ यस वर्षपनि सिमलटारमा सहकारीको आयोजनामा धान दिवस मनाइएको बताए । सहकारीले दुग्ध संकलन र बिक्री गरिनुका साथै बचत तथा ऋणको कारोबार समेत गर्दै आइरहेको छ ।


