हेटौंडा \  हेटौंडा–८ स्थित सर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्था र हेटौँडा १ चौकीटोलमा रहेको स्थित सुन्दर बचत तथा ऋण सहकारी संस्था लिमिटेड एकीकरण भई ‘सर्वोत्तम सुन्दर संचिती सहकारी संस्था’ गठन गरिएको छ।

दुवै संस्थाले शनिबार संयुक्त साधारणसभा आयोजना गरी सहकारी एकीकरणको औपचारिक घोषणा गरेका हुन्। सर्वोत्तमका अध्यक्ष रामबहादुर बस्नेत र सुन्दर सहकारीका अध्यक्ष शम्भु नकर्मीको संयुक्त अध्यक्षतामा भएको सभामा बागमती प्रदेश सरकारको सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले सहकारीले सदस्यबीच एउटै परिवारको भावना विकास गर्ने बताइन ् । उनले ‘सर्वोत्तम सुन्दर संचिती सहकारी’ नाम आफूले सुझाव दिएको उल्लेख गर्दै नाम अत्यन्त उपयुक्त र आकर्षक रहेको धारणा व्यक्त गरिन्। कार्यक्रममा सर्वोत्तम संचिती बचत तथा ऋण सहकारीका अध्यक्ष रामबहादुर बस्नेत तथा सुन्दर बचत तथा ऋण सहकारीका अध्यक्ष शम्भु नकर्मीले आ–आफ्ना संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । बस्नेतले आर्थिक सुरक्षा, खाद्य सुरक्षा तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर सहकारीले लक्ष्य निर्धारण गरेको जानकारी दिए ।

सभामा सुन्दर सहकारीका कोषाध्यक्ष दीपक देवकोटा र सर्वोत्तम सहकारीका व्यवस्थापक राजाराम थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीले ‘सर्वोत्तम उद्योग समूह’ स्थापना गरी उत्पादन, प्रवर्द्धन तथा बजारीकरणका क्षेत्रमा समेत काम गर्दै आएको जनाएको छ। सुन्दर सहकारीमा करिब ८ सय शेयर सदस्य आवद्ध रहेका छन् भने सर्वोत्तम सहकारीमा ३ हजार १ सय शेयर सदस्य आवद्ध रहेको व्यवस्थापक राजाराम थापाले बताए ।

सभामा हेटौँडा उपमहानगरपालिका १ नम्वर वडाध्यक्ष सविन न्यौपाने, हेटौंडा ७ का वडाध्यक्ष दामोदर गौतम, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, कानुनी सल्लाहकार राधाकृष्ण मैनाली, सल्लाहकार रघुरमण न्यौपाने, पतंजलि योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापालगायतको दुबै संस्थाका सल्लाहकारहरुआतिथ्य रहेको थियो ।

संयुक्त सभासँगै सहकारीले उत्पादन गरेका ५४ थरिका उत्पादित वस्तुहरुको विक्री प्रदर्शनी राखिएको थियो ।

 

अध्यक्षमा बस्नेत सर्वसम्मत चयन
एकीकरणपछि गठन भएको सर्वोत्तम सुन्दर संचिती सहकारी संस्थाको अध्यक्षमा रामबहादुर बस्नेत चयन भएका छन् । उनको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन भएको हो ।

संस्थाको उपाध्यक्षमा हरिमाया ढकाल, सचिवमा रामनाथ वगाले, कोषाध्यक्षमा रेनु गुरुङ तथा सहसचिवमा विश्वनाथ ढकाल चयन भएका छन् । त्यस्तै, सहकारीको सदस्यमा ऋतु विष्ट, धनकुमारी राजथला, बुद्धिप्रसाद पौडेल र राजकुमार अधिकारी चयन भएका छन्। सहकारीको लेखा समिति संयोजकमा पशुपति रिजाल तथा सदस्यहरूमा मोनिका खड्का र सम्झना कार्की चयन भएका छन्।