हेटौंडा \  हेटौंडा १२ पान्तलेमा अवस्थित आधुनिक महिला जागृति बचत तथा ऋण सहकारीले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् । शनिबार संस्थाको आफ्नै भवनमा भएको रक्तदान कार्यक्रममा १८ महिला र ३२ पुरुष गरी ५० जनाले रक्तदान गरेको संस्थाका व्यवस्थापक गीता नेपालले बताईन् ।

सहकारीको वार्षिक कार्यक्रम अन्तरगत नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको उनले बताईन् । सहकारीले समूदायप्रति चासो सिद्धान्तलाई आत्मसात् गर्दै विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ ।

संस्थाका अध्यक्ष सोममाया मोक्तानको अध्यक्षता तथा वडा १२ का वडा सदस्य गीता परियारको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा संस्थाका पदाधिकारी, सल्लाहकार तथा शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।