हेटौंडा \ हेटौंडा १२ पान्तलेमा रहेको आधुनिक महिला जागृति बचत तथा ऋण सहकारी संस्थाको २० औं सहकारी स्थापना दिवसको अवसरमा पूर्व सञ्चालक सदस्य सम्मान गरिनुका साथै विभिन्न स्थानमा डस्विन वितरण गरिएको छ । विहीबार संस्थाका अध्यक्ष सोममाया मुक्तानको अध्यक्षता तथा वडा सदस्य गीता परियारको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । सहकारीले पूर्व सञ्चालक सदस्य सम्मानतर्फ सुनमाया लोप्चन, सेतीमाया थोकर, रीता पौडेल र गंगा मैनालीलाई सम्मान गरिएको थियो । त्यस्तै, पूर्व लेखा संयोजक कल्पना मोक्तान, सामाजिक परिचालिका भगवती मैनालीलाई सम्मान गरिएको थियो ।

सहकारीले दिवसकै अवसरमा श्रीकृष्ण मन्दिर, गुप्तेश्वर महादेव मन्दिर, दुईवटा गुम्बा, एकवटा नेवारी गुठी र एकवटा चर्च समेत गरी ७ वटा डस्विन वितरण गरिएको संस्थाका व्यवस्थापक गीता नेपालले बताईन् । संस्थाको भवनमा भएको कार्यक्रममा सहभागी शेयर सदस्यलाई सहकारी शिक्षा समेत प्रदान गरिएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष कमला केसी र पूर्व उपाध्यक्ष बबिता लामा लगायत शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

सहकारीले चैत्र मसान्तसम्ममा ७ करोड ९४ लाखको कारोबार गरेको व्यवस्थापक नेपालले बताईन् । सहकारीले सदस्यलाई ५ करोड ८० लाख, कर्जा लगानी गरेको छ भने बचत निक्षेप ५ करोड ८२ लाख रहेको छ । संस्थाको शेयरपुजीँ ८१ लाख ६९ हजार ९०० रहेको उनले बताईन् ।