हेटौँडा \ हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ स्थित थाहा कृषि बाटिकाका सञ्चालक अरुणराज सुमार्गीले कृषकहरूसँग भेटघाट तथा छलफल गर्नुभएको छ । सोमबार वडा नम्बर ८ मा रहेको सर्वोत्तम सञ्चिति बचत तथा ऋण सहकारी संस्थामा आवद्ध कृषकहरूसँग थाहा कृषि बाटिकामा आयोजित एक कार्यक्रमबीच भेटघाट तथा छलफल गरिएको हो ।
छलफलका क्रममा सञ्चालक सुमार्गीले कृषकहरूलाई उत्पादनमा सक्रिय रूपमा लाग्न आग्रह गर्नुभयो । उहाँले कृषि क्षेत्रलाई आयआर्जनको भरपर्दो माध्यम बनाउन सकिने उल्लेख गर्दै व्यावसायिक खेतीतर्फ उन्मुख हुन सुझाव दिनुभयो । उहाँले कृषकहरूको उत्पादनलाई बजारसम्म पुर्याउन आफू पुलको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै बजारीकरणमा कुनै समस्या हुन नदिने बताउनुभयो ।
कार्यक्रममा सहकारीका अध्यक्ष रामबहादुर बस्नेतलगायतको आतिथ्यता रहेको थियो । कृषकहरूले पनि आफ्ना समस्या, अनुभव तथा सुझाव राखेका थिए ।

