काठमाडौँ \  सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिएसँगै शुक्रबार पनि सेयर कारोबार खुल्ने भएको छ ।

आइतबार बेलुका बसेको नेप्से सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने निर्णय गरेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईले जानकारी दिए ।

उनका अनुसार सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकाले नेप्सेले पनि सोहीअनुसार शुक्रबार सेयर कारोबार खोल्ने निर्णय गरेको हो । सिईओ चापागाईंले यो निर्णय यही सातादेखि लागू हुने बताए । सेयर कारोबार अब आइतबार भने सेयर बजार बन्द रहने बताए । आइतबारको साटो शुक्रबार बजार खोल्ने निर्णय भए पनि कारोबार समय भने ११ बजेदेखि ३ बजेसम्म नै यथावत् राखिएको उनको भनाई छ ।  यसअघि आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार हुँदै आएको थियो ।