हेटौंडा \ बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सीप र कलाले मानिसलाई परिस्कृत बनाउने बताएका छन् । शनिबार हेटौंडा १३ स्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको नौमति बाजा बजाउने तालिमको समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले सीप र तालिम मार्फत महिलाहरुको आर्थिक पक्ष सुधार हुने बताए ।

नौमति बाजा जगेर्ना गर्न प्रदेश सरकार लागि रहेको अवस्थामा पदमपोखरीमा महिला दिदीबहिनीले जुन किसिमले बाजा बजाउने तालिम लिनुभएको छ त्यसलाई आगामी दिनमा निरन्तरता दिन सरकारले आवश्यक सहयोग गरिने प्रतिवद्धता व्यक्त गरे । सहकारी मार्फत महिलाहरुमा नेतृत्व र व्यक्तित्व विकास हुनुका साथै विभिन्न तालिम र सीपले आत्मनिर्भरमा समेत उल्लेख्य टेवा पुगेको छ मुख्यमन्त्रीले भने । कला क्षेत्र आम्दानीको स्रोत हो, बाजा सँगै नृत्य र गायनलाई पनि सँगै लैजानु पर्नेमा उनले जोड दिए । विभिन्न सभा सम्मेलन कार्यक्रममा अनिवार्य पञ्चेबाजा बजाउने गरियो भने कला संस्कृति जगेर्नामा थप टेवा पुग्ने उनले बताए ।

सहकारीले स्वरोजगारमूलक तालिम प्रदान गर्दै आइरहेकोले वडा र नगरपालिकाबाट हुने समन्वय र सहकार्य आगामी दिनहरुमा पनि रहने वडा १३ का वडाध्यक्ष पेम्बा लामाले बताए । बाजा बजाउन गाह्रो छ, जति धेरै प्रयोग गरे उतिकै सहजता हुँदै जाने उनले बताए । अहिले सामान्य बजाउन सिक्नुभयो, आगामी दिनहरुमा बजाउँदै जाँदा निखारता रहनेछ, वडाध्यक्ष लामाले बताए ।

तालिममा सहभागी लक्ष्मी ओझाले १५ दिनको तालिम अपुग रहेकाले करिब एडभान्स तालिम आवश्यक रहेको बताईन् । हाम्रो टिमले थप तालिम लिन पाए अझ सशक्त भएर अघि बढ्ने बताईन् ।

संस्थाका अध्यक्ष मीना थापाको अध्यक्षता तथा मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, हेटौंडा उपमहानगरका सहकारी शाखा प्रमुख महेन्द्र चापागाई, संस्थाका पूर्व अध्यक्ष लक्ष्मी थिङ, लेखा समिति संयोजक विष्णुमाया लामा, सिन्धुली कला घरका प्रशिक्षक सञ्चिता थापामगर, पत्रकार महासंघका अध्यक्ष बालकृष्ण अधिकारी, संस्थाका उपाध्यक्ष दीपा लामालगायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । १५ दिन सञ्चालित तालिममा सहकारीका ३० जनाको सहभागिता रहेको संस्थाका प्रमुख व्यवस्थापक फूलमाया मोक्तानले बताईन् । तालिम चैत्र ७ गतेबाट सुरु भएको थियो ।