हेटौंडा \ ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता भन्ने मूल नाराका साथ प्रभातफेरी गरि सहकारी दिवस मनाइएको हो । दिवस मूल समारोह समितिका संयोजक नारायण प्रसाद देवकोटाको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले पछिल्लो समय सहकारीप्रति हेर्ने दृष्ट्रिकोण जुन छ त्यसलाई अन्त्य गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए । सहकारी प्रति डर त्रास, अविश्वास, भय उत्पन्न भएको छ जुन त्यस किसिमको डर त्रास सिर्जना हुन्छ त्यहाँ साझा स्वार्थ भन्दा बढी व्यक्तिगत स्वार्थ हुन्छ, ती सहकारीले गर्दा सबै सहकारीमा हेर्ने नजर एकै रहने भएकाले त्यहाँ समस्या उत्पन्न रहेको छ ।

मकवानपुरमा समूदायमा आधारित सहकारी छन् सहकारीले लगानी गर्दा उत्पादनमा आधारित भएर लगानी गर्नुपर्ने बताए । राज्यको आर्थिक मेरुदण्डको रुपमा रहेको सहकारीलाई थप व्यवस्थित गर्न र कृषि उत्पादन क्षेत्रमा प्रदेश सरकारले आवश्यक सहयोग गरिने मुख्यमन्त्री बानियाँले बताए । सहकारीमा सहकार्य, समन्वय र सहअस्तित्व रहनुपर्छ हुँदा खाने र हुने खाने दुबैले एक अर्काको अस्तित्व बुझेर समाजमा रहनुपर्छ, मुख्यमन्त्री बानियाँले भने । प्रदेश अन्तरगतका सहकारी जसले सहकारीमा दुरुपयोग गरेका छन् उनीहरु माथी कानूनी दायरामा प्रदेश सरकारले ल्याउने छ भने स्थानीय सरकारले पनि आफु मातहतका सहकारीलाई समय समयमा अनुगमन गरिनुपर्ने बताए ।

हेटौंडा ४ हुप्रचौरबाट सुरु भएको प्रभातफेरी हेटौंडा बजार परिक्रमा गरी हिमालयन दरबारमा पुगी कोणसभामा परिणत भएको थियो । कार्यक्रममा जिल्ला स्थित बचत तथा ऋण, बहुउद्देश्यीय, कृषि, दुग्ध उत्पादक लगायत अन्य सहकारी संस्थाहरुले संस्थाको व्यानर, प्लेकार्ड बोकेर पोषाकमा सहभागी भएका थिए भने केही सहकारीहरुले नौमति बाजा, खैजडी र पञ्जेबाजा सहित सहभागीता जनाएका थिए । बाल शेयर सदस्य देखी युवा र जेष्ठ सदस्यहरुलाई समेत दिवस कार्यक्रममा सहभागीता गराइएको थियो ।

प्रभातफेरीमा सहकारीको उत्कृष्ट प्रदर्शन गर्ने सहकारीहरुलाई पुरस्कृत गरिएको थियो । जसमा हेटौंडा १३ को महिला मिलन साकोस प्रथम भएको छ भने दोस्रो स्थान हेटौंडा १८ स्थित साना किसान कृषि सहकारी संस्था लि. हर्नामाडी भएको छ । त्यस्तै, हटिया साना किसान कृषि सहकारी संस्था लि तेस्रो स्थान हासिल गरेको छ । त्यस्तै, सान्त्वना हुनेहरुमा हेटौंडा ११ को बागेश्वरी महिला साकोस, हेटौंडा १९ को साना किसान कृषि सहकारी संस्था बसामाडी, हेटौंडा २ को हातेमालो साकोस, हेटौंडा ७ को हेटौंडा साकोस रहेका छन् । पुरस्कृत हुने सहकारीलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रदेश सरकारका सहकारी तथा गरिवी निवारण मन्त्री विनु रायमाझी, प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान, सहकारी महासंघका संचालक बद्रीप्रसाद लम्साल, विदुर हुमागाई, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कंडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना चौरेल, नेफ्स्कुन फिल्ड हेटौंडाका प्रमुख ज्योति महत, राष्ट्रिय सहकारी बैंकका प्रमुख समीर श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।