हेटौंडा \ हेटौंडा १३ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेको छ । संस्थाको रजत जयन्तीको अवसरमा आयोजित शिविरमा १०९ जनाको जाँच गरिएकोमा ३८ जनाको उपचार गरिएको र ६९ जनाको ल्याव परीक्षण गरिएको संस्थाका प्रमुख व्यवस्थापक फूलमाया मोक्तानले बताईन् ।

चैत्र २ गते संस्थाका अध्यक्ष मीना थापाको अध्यक्षता तथा वडा १३ का अध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यतामा एक दिने प्राथमिक स्वास्थ्य उपचार सम्बन्धी सचेतना कार्यक्रम गरेको थियो । सोही कार्यक्रममा उपचारका लागि नाम लेखाई आइतबार स्वास्थ्य परीक्षण गरिएको मोक्तानले बताईन् । शिविरमा विशेषगरि पाइल्स, फिस्टुला, फिसर रोग सम्बन्धी परीक्षण गरिएको थियो । उपचार पश्चात औषधि वितरण गरिएको थियो । शिविरलाई एञ्जल फाउण्डेसनको प्राविधिक टोलीले परीक्षण गरेका थिए ।

बचत र ऋणको कार्यसँगै सहकारीले शेयर सदस्य स्वारोजगार बनाउने लक्षित गरि विभिन्न सीपमूलक तालिम पनि प्रदान गर्दै आइरहेको छ । सहकारीले शनिबारबाट १५ दिने नौमती बाजा बजाउने तालिम सुरु गरेको छ । ३० जनाको सहभागितामा सञ्चालित तालिमलाई सिन्धुली कला घरले प्रशिक्षण दिइरहेको छ । सहकारी र हेटौंडा उपमहानगरपालिकाको लागत साझेदारीमा तालिम सञ्चालन गरिएको व्यवस्थापक मोक्तानले बताईन् ।