काठमाडौँ \ विश्व व्यापार संगठनले सन् २०२६ मा विश्वको वस्तु व्यापार वृद्धिदर घटेर १.९ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ । संगठनले बिहीबार सार्वजनिक गरेको ‘ग्लोबल ट्रेड आउटलुक एन्ड स्टाटिक्स’ ले विश्व बजारमा ऊर्जाको मूल्यमा आउने उत्तारचढाव बाहेकको आधारभूत वृद्धि दर प्रक्षेपण गरेको हो ।
सन् २०२५ मा ४.६ प्रतिशत रहेको विश्वव्यापी वस्तु व्यापार वृद्धि दर सन् २०२६ मा घटेर १.९ प्रतिशतमा खुम्चिने अनुमान गरेको हो । यदि पश्चिम एसियाको द्वन्द्वका कारण ऊर्जाको मूल्य बढ्दा र विश्वव्यापी यातायातमा अवरोध लामो समय जारी रहे यो वृद्धि दर अझै कम हुन सक्ने प्रतिवेदनमा उल्लेख छ।
आर्टिफिसिएल इन्टेलिजेन्सी (एआई)सँग सम्बन्धित उत्पादनहरूको वृद्धि र नयाँ भन्सार शुल्कबाट बच्नका लागि पहिले नै गरिएको आयातकार कारण व्यापार सामान्य अवस्थामा आउने अपेक्षा गरिएकाले वृद्धिदर खुम्चिने संगठनले जनाएको छ । सन् २०२७ मा विश्व वस्तु व्यापारको परिमाण २.६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।
व्यापारिक सेवाको व्यापार वृद्धि यस वर्षको ५.३ प्रतिशतको वृद्धिपछि २०२६ मा ४.८ प्रतिशतमा झर्ने र २०२७ मा पुनः ५.१ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको छ। समग्रमा वस्तु र सेवाको व्यापार २०२५ को ४.७ प्रतिशतको तुलनामा २०२६ मा २.७ प्रतिशत ले बढ्नेछ। विश्वव्यापी कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि दर २०२५ को २.९ प्रतिशतबाट थोरै घटेर २०२६ र २०२७ दुवै वर्षमा २.८ प्रतिशत रहने अनुमान गरिएको छ ।

