काठमाडौं \ नेपाल राष्ट्र बैंकले एक पटकका लागि आवधिक प्रकृतिको स्थायी चालु पूँजी कर्जा आगामी असार मसान्तसम्म पुनर्तालिकीकरण गर्न सक्ने सुविधा दिएको छ । यसअघि मौद्रिक नीतिको समीक्षामार्फत घोषणा गरिएको व्यवस्थालाई निर्देशन जारी गर्दै बैंकले कार्यान्वयनमा ल्याएको हो ।
बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषण गरेर आवश्यकता र औचित्यका आधारमा मात्रै आगामी असार मसान्तसम्म यस्तो कर्जा पुनर्तालिकीकरण गर्न सक्ने राष्ट्र बैंकले प्रष्ट पारेको छ ।‘यसरी गरिएको कर्जा पुनर्तालिकीकरणलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनर्तालिकीकरण भएको मानिने छैन’ राष्ट्र बैंकले निर्देशनमा भनेको छ ।
बैंक तथा वित्तीय संस्थाले चालु पूँजी कर्जाको आवश्यकता विश्लेषण गर्दा २ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा ४ करोडसम्म) चालु पूँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा समेत आवश्यकता पहिचान भएमा ‘स्थायी चालु पूँजी आवश्यकता’का लागि आवधिक प्रकृतिको चालु पूँजी कर्जा प्रदान गर्न सक्ने निर्देशनमा उल्लेख छ ।

