आगामी सोमबार राष्ट्र बैंकका दुई डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले अवकाश लिँदै छन् । उनीहरूको अवकाशपछि रिक्त हुने डेपुटी गभर्नरका लागि छनोट प्रक्रिया भने थालिएको छैन । निर्वाचन आचारसंहिताका कारण सरकारले नियुक्ति प्रक्रिया अघि बढाउन नपाएको हो । अर्थमन्त्री रामेश्वरप्रासद खनालले राष्ट्र बैंकमा डेपुटी गभर्नर नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन आयोगसँग परामर्श पनि गरेका थिए । तर, विवादमा पर्ने जोखिम देखेपछि उनी डेपुटी गभर्नर नियुक्तिमा पछि हटेका थिए । र, अब नयाँ सरकारलाई डेपुटी गभर्नरको नियुक्तिको जिम्मेवारी दिने उनको योजना छ ।

राष्ट्र बैंक ऐनअनुसार कार्यकारी निर्देशकमध्येबाट तीन योग्य व्यक्तिलाई डेपुटी गर्भनरका लागि गभर्नरले सिफारिस गर्ने व्यवस्था छ । गभर्नरको सिफारिस सूची अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गर्ने र मन्त्रिपरिषद्ले तीनमध्ये दुईजनालाई डेपुटी गभर्नर नियुक्ति गर्ने प्रावधान छ । डेपुटीहरू पछि गभर्नर नियुक्तिको समेत बलियो प्रत्याशी हुने गरेका छन् । त्यसैले, डेपुटी गभर्नर नियुक्तिलाई मन्त्रिपरिषद्ले समेत ‘चासोपूर्वक’ निर्णय गर्ने गरेको छ ।

डेपुटी गभर्नरहरू राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहने व्यवस्था छ । डेपुटी गभर्नर पदमा नियुक्तिका लागि सिफारिस गर्दा केन्द्रीय बैंकका विशिष्ट श्रेणीका अधिकृतहरूमध्येबाट कार्यक्षमताका आधारमा रिक्त पदको दोब्बर संख्यामा नामावली सिफारिस गर्नुपर्ने ऐनमा व्यवस्था छ । तर, मन्त्रिपरिषद्मा नियुक्तिका लागि तीनजनाको नाम सिफारिस गर्ने अभ्यास छ । डेपुटी गभर्नरका लागि नेपाली नागरिक हुनुपर्ने, उच्च नैतिक चरित्र भएको, आर्थिक, मौद्रिक बैंकिङ वित्तीय वाणिज्य व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानुनको क्षेत्रमा कार्य अनुभव हासिल गरेको हुनुपर्ने मापदण्ड छ ।