काठमाडौं \ नेपालको सार्वजनिक ऋण साढे २८ खर्बमाथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिना (साउन–माघ) सम्म सार्वजनिक ऋण आकार २८ खर्ब ५८ अर्ब ९७ करोड पुगेको छ ।

गत आव अन्तिम (असार मसान्त) सम्म सार्वजनिक ऋण दायित्व २६ खर्ब ७४ अर्ब ४ करोड बराबर थियो । चालु आव ७ महिनामा सार्वजनिक ऋण ह्वात्तै बढ्नुमा नेपालले थप लिएको सार्वजनिक ऋणसँगै नेपाली मुद्रा कमजोर हुँदा परेको भारसमेत हो ।

कार्यालयका अनुसार नेपाली मुद्रा कमजोर हुँदा सार्वजनिक ऋणमा ९२ अर्ब ९६ करोड बराबर अतिरिक्त भार थपिएको छ । यस्तो भार वाह्य ऋणमाथि पर्छ ।

माघ मसान्तसम्म आन्तरिक ऋण १३ खर्ब ४९ अर्ब १३ करोड पुगेको छ । वाह्य ऋण दायित्व १५ खर्ब ९ अर्ब हाराहारी पुगेको छ । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा सार्वजनिक ऋण आकार ४६.८१ प्रतिशत पुगेको छ । जसमा वाह्य ऋणभार २४.७२ र आन्तरिक ऋण २२.०९ प्रतिशत छ ।

माघसम्म सार्वजनिक ऋण

आन्तरिक : १३ खर्ब ४९ अर्ब

वाह्य : १५ खर्ब ९ अर्ब

कुल : २८ खर्ब ५८ अर्ब

धनी नहुँदै मुलुक ऋणी

नेपालको अहिलेको सार्वजनिक ऋणको अवस्थालाई विज्ञहरू ‘मुलुक धनी नहुँदै ऋणी’ बनेको अवस्था मान्छन् । यसलाई व्यक्तिको जीवनसँग तुलना गर्दा ऋण तिर्न पुन: ऋण लिनुपर्ने दलदलमा फस्नु हो ।

अहिले मुलुकको अवस्था पनि उस्तै छ । माघसम्म नेपालले २ खर्ब ५५ अर्ब रुपैयाँ बराबर थप ऋण लिएको छ । यो अवधिमा १ खर्ब ६३ अर्ब ५२ करोड ऋण भुक्तानी समेत गरिएको छ ।

सरकारले ऋण लिएर पुन: ऋण दायित्व भुक्तानी गरिरहेको छ । किनकि, ऋणबाहेक सरकारको अर्को आम्दानी वैदेशिक अनुदान र राजस्व हो । जसबाट प्राप्त रकम सरकारले चालु प्रकृतिको अनिवार्य दायित्व भुक्तानीमै खर्च गर्नुपरेको छ । वित्तीय व्यवस्था र पूँजीगत खर्चका लागि पुन: ऋण लिनुपर्ने अवस्था छ ।

७ महिनामै ६० प्रतिशत उठ्यो आन्तरिक ऋण, वाह्य ऋण परिचालन कमजोर

नेपाल वाह्य ऋण प्राप्तिको लक्ष्य ठूलो राखे पनि प्राप्ति गर्न असफल मुलुक हो । ७ महिनामा वाह्यतर्फ लक्ष्यको १६.१८ प्रतिशतमात्र  ऋण उठेको छ । अर्थात्, यस वर्ष सरकारले २ खर्ब ३३ अर्ब रुपैयाँ वाह्य ऋण उठाउने लक्ष्य राखेको छ । माघसम्म ३७ अर्ब ८१ करोडमात्र परिचालन गरिएको छ ।

त्यस्तै आन्तरिकतर्फ भने माघसम्म ६०.१३ प्रतिशत परिचालन भइसकेको छ । यस वर्ष ३ खर्ब ६२ अर्ब आन्तरिक ऋण परिचालन लक्ष्य छ । कुल परिचालन भएको सार्वजनिक ऋणमा ८५.२० प्रतिशत आन्तरिक र १४.८० प्रतिशतमात्र वाह्य ऋण हिस्सा छ ।

यस वर्ष सरकारले ६ खर्ब हाराहारी सार्वजनिक ऋण परिचालन लक्ष्य राखेकोमा माघसम्म ४२.८९ प्रतिशत परिचालन भएको छ । जुन २ खर्ब ५५ अर्ब ४८ करोड बराबर हो ।