काठमाडौं \ आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आकार चालु आवको तुलनामा घट्ने भएको छ । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवको बजेटका लागि चालु आवको आकारभन्दा सामान्य कम हुने गरी बजेट सिलिङ अर्थ मन्त्रालयलाई दिएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार १८ खर्ब ९० अर्बदेखि १९ खर्ब ४० अर्बको बीचमा रहने गरी सीमा निर्धारण गरिएको हो ।
सरकारले चालु आव २०८२/८३ मा १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ । राष्ट्रिय योजना आयोग उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले बजेट आकार अनावश्यक बढाउने प्रवृत्तिमा रोक लगाउने प्रयास ‘उपलब्ध हुने स्रोत र गर्न सकिने खर्चको सीमा’ निर्धारणकै बखत थालिएको छ । सोही अनुसार सिलिङ तय भएको उनले बताए ।
आयोग उपाध्यक्षको नेतृत्वमा रहने राष्ट्रिय स्रोत अनुमान समितिले अर्थमन्त्रीलाई सोही सीमा दिनुपर्ने प्रावधान छ । अहिले सरकारले १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबर बजेट कार्यान्वयन गरिरहेको छ । यो बजेट समेत अर्धवार्षिक समीक्षाले १६ खर्ब ८८ अर्ब रुपैयाँमात्र खर्च हुने संशोधित अनुमान गरिसकेको छ ।
‘सुरुमै ठूलो बजेट ल्याउने र खर्च गर्न नसक्ने प्रवृत्ति दाहोरिँदा राज्य संयन्त्रमाथि प्रश्न उठिरहेका छन्,’ उपाध्यक्ष डा. श्रेष्ठले भने, ‘यसलाई सिलिङ तोक्ने समयमै नियन्त्रणको प्रयास गरिएको छ ।’यथार्थ खर्च अर्धवार्षिक समीक्षाको अनुमान भन्दा कम हुने प्रवृत्ति लामो समयदेखि दोहोरिरहेको छ ।

