काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा नेपालले  विद्युतीय सवारी साधन (ईभी) को आयात  करिब १४ अर्बको गरेको छ । भन्सार विभागले सार्वजनिक गरेका तथ्याङ्क अनुसार साउनदेखि माघ महिनासम्मको अवधिमा नेपालले विश्वका विभिन्न मुलुकबाट १३ अर्ब ८४ करोड ७७ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको विद्युतीय कार, जिप र भ्यान आयात गरेको छ ।

जसबाट सरकारले ८ अर्ब ४६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।  भन्सार विभागको तथ्याङ्क अनुसार यस सात महिनाको अवधिमा कुल ५,८९४ युनिट विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् ।

चीनको दबदबा

आयातको देशगत तथ्याङ्कलाई विश्लेषण गर्दा उत्तरी छिमेकी मुलुक चीनको दबदबा स्पष्ट रूपमा देखिएको छ । चीनबाट मात्रै यस अवधिमा कुल ४,२०४ युनिट विद्युतीय गाडी आयात भएका छन् ।  जसको कुल आयात मूल्य करिब ९ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।

यो कुल आयातको ७१ प्रतिशतभन्दा बढी हिस्सा हो । चिनियाँ ब्रान्डका गाडीहरू विभिन्न मूल्य र आधुनिक प्रविधिमा उपलब्ध भएका कारण नेपाली ग्राहकको पहिलो रोजाइमा परेका हुन् । चीनबाट आएका यी गाडीहरूबाट मात्रै सरकारले ६ अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।  जुन ईभी आयातबाट प्राप्त कुल राजस्वको ठुलो हिस्सा हो ।

दोस्रो भारत, पछ्याउँदै थाइल्याण्ड

चीनपछि भारत नेपाली बजारमा विद्युतीय सवारी निर्यात गर्ने दोस्रो ठुलो मुलुक छ । चालू आर्थिक वर्षको सात महिनामा भारतबाट १,२६३ युनिट विद्युतीय गाडी आयात भएका छन्, जसको कुल मूल्य २ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी रहेको छ ।