पछिल्ला केही कारोबार दिन घटेको नेप्सेले बिहीबार कमब्याक गरेको छ। साताको अन्तिम कारोबार दिन सूचक २७.१९ अंकले बढेर २७०८.७० विन्दुमा चढेको हो। यस दिन कारोबार पनि बढेको छ। अघिल्लो हप्ता निरन्तर १० अर्बको दैनिक कारोबारपछि यो साताको सुरुदेखि नै ओरालो लाग्नथालेको कारोबार रकम बिहीबार ११ अर्ब बढी पुगेको छ।
यस दिन लगानीकर्ताले ११ अर्ब ५८ करोडको किनबेच गरेका हुन्। नेपाल स्टक एक्सचेन्जका अनुसार ३ करोड ५५ लाख कित्ता किनबेचपछि कारोबारको ग्राफ बढेको हो। आज २०१ वटा सेयरको मूल्य बढ्दा ५५ वटाको घटेको र ४ वटाको अघिल्लो मूल्यमा कारोबार भएको छ। बढेकामध्ये कालिञ्चोक दर्शन, सुपर माई हाइड्रो र मोदी इनर्जीको सेयरमा सर्किट लाग्दा रिडी पावर कम्पनी र खानीखोला हाइड्रोको सेयर पनि सर्किट हाराहारीमै बढेका छन्।
सुपरमादी हाइड्रोका लगानीकर्ताले भने आज ९.९८ प्रतिशत गुमाएका छन्। यसबाहेक बाँकी सेयरहरु अधिकतम ६.२५ प्रतिशतसम्मले घटेका छन्।
कारोबारमा भने आज युनियन हाइड्रो अगाडि रह्यो। कम्पनीको ५८ करोडको कारोबार भएको छ। यसबाहेक राधी विद्युत् ५७ करोड, एसवाई प्यानल ५३ करोड, आखुखोला जलविद्युत् ४० करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट ३८ करोडको कारोबार भएको छ।
२६८१.१३ विन्दुबाट कारोबार सुरु भएको नेप्सेले बिहीबार २७०६ विन्दुसम्मको उचाइ लिएकामा कारोबार बन्द हुँदा २७०३ मा अडिएको हो। यस दिन व्यापारबाहेक सबै उपसूचक हरियो छन्।

