हेटौंडा \ हेटौंडा–२ स्थित ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको २६ औं साधारणसभा शनिबार भएको छ । संस्थाका अध्यक्ष राजु अधिकारीको सभाध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।
सभामा जेष्ठ शेयर सदस्य मनमाया पुडासैनी, बचतकर्तातर्फ यादव घिमिरे र सीतामाया भोलन, कारोबारीतर्फ अनिल लामा, प्रह्लाद खनाल, बालबचततर्फ शिवेस प्रसाद कुशवाह, सञ्चालक समितितर्फ गीता कोइरालालाई सम्मान गरिएको थियो । त्यस्तै, संस्थापक शेयर सदस्यतर्फ चन्द्रबहादुर गोले, दुर्गा प्रसाद घिमिरे, शरण बहादुर घले र रामप्रसाद पुडासैनी, कर्मचारीतर्फ तारा कँडेललाई सम्मान गरिएको संस्थाका सचिव रविन ढकालले बताए । त्यस्त एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने प्रयोगराज खड्का, अविस्कार अधिकारी र रुपेश अग्रवाललाई समेत पुरस्कृत गरिएको छ ।
संस्थाका अध्यक्ष अधिकारीले एक वर्षभित्र आफूले प्राप्त गर्ने बैठकभत्ता ९ हजार ५ सय रुपैयाँमा त्यति नै रकम थपी १९ हजार रुपैया चन्द्रोदय मावि हेटौंडा–८ मा अध्ययनरत एक जना र प्रतिभा आधारभूत विद्यालय, सिक्रेनीमा अध्ययनरत एक जना विद्यार्थीलाई छात्रवृत्तिको रुपमा प्रदान गरेका थिए । सोही अवसरमा राष्ट्रिय सहकारी बैंकका प्रमुख तथा संस्थाका सल्लाहकार रामेश्वर अर्याललाई विदाई सम्मान गरिएको थियो ।
करिब २ हजार १ सय सदस्य रहेको सहकारीको मकवानपुर जिल्लाभर कार्यक्षेत्र रहेको छ । संस्थाको शेयर पुँजी २ करोड २२ लाख २२ हजार रुपैयाँ रहेको व्यवस्थापक पुष्पा क्षेत्रीले बताईन् । संस्थाले आफ्ना सदस्यलाई ९ करोड १७ लाख ७३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
सभामा राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख रामेश्वर अर्याल, संस्थाका संस्थापक अध्यक्ष कृष्णप्रसाद पुडासैनी, निवर्तमान अध्यक्ष प्रतिमा श्रेष्ठ, लेखा समिति संयोजक पूर्णप्रसाद पुडासैनी, मउवा संघका सचिव नेत्रप्रसाद खतिवडा, मकवानपुर कुखुरा व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष श्यामसुन्दर परियार, गणपति बाबा साकोसका अध्यक्ष खीलप्रसाद पौडेल लगायत संस्थाका पदाधिकारीहरुको सहभागिता थियो ।

