हेटौँडा \ बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन) को पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारण सभाले सहकारीमा विभिन्न विधामा कार्यरत कार्यरत कर्मचारीहरूलाई सम्मान गरेको छ ।

प्रोस्कुनले उत्कृष्ट व्यवस्थापकतर्फ मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३, मक्राञ्चुलीस्थित जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी व्यवस्थापक मेनुका दाहाल र चितवन जिल्लाको राप्ती नगरपालिका–२, ग्रामीण सहकारी साकोसका सीताराम सिलवाललाई जनही नगद ८ हजार ५ सय रुपैयाँसहित सम्मानित हुनुभएको छ ।

यस्तै प्रोस्कुन बागमती प्रदेशले विभिन्न विधामा उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरेको छ । प्रोस्कुनले उत्कृष्ट कर्मचारी प्रोस्कुन काठमाडौँका इन्चार्ज रामकृष्ण दुलाल, उत्कृष्ट लगानीकर्ता काभ्रेपलाञ्चोकको बिन्दबासिनी साकोस, उत्कृष्ट बचतकर्ता दोलखाको भिमेश्वर नगरपालिका–३ को दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड, वर्षको सहकारी एकीकरण प्रोत्साहन मकवानपुरको थाहा नगरपालिका–६ मा रहेको बज्रबाराही सकोस, उत्कृष्ट सहकारी अभियन्ता राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एवम् संविधानसभा सदस्य ओमदेवी मल्ल, उत्कृष्ट बचत तथा ऋण सहकारी दोलखाको जनमुखी साकोस र काभ्रेपलाञ्चोकको लक्ष्मी महिला साकोसलाई सम्मान गरिएको छ ।

यस्तै बागमती प्रोस्कुनका पूर्व सञ्चालक तेजेन्द्रबहादुर खड्का, उत्कृष्ट पदाधिकारी एवम् सञ्चालक बनेपाको बुडोल सामुदायिक साकोसका कैलाश केसी र उत्कृष्ट सञ्चारकर्मी मदानी बिटका मोतिराम तिमल्सिना सम्मानित हुनुभएको छ । कार्यक्रम प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा १३ वटै जिल्लाको संघसंस्थाको प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।